झा दम्पती हत्या प्रकरण : प्रहरी चुकेकाे अनुसन्धान

न्यूज डेस्क     २०७८ माघ २६, बुधबार ०८:५५ बजे मा प्रकासित


महोत्तरी । महोत्तरी जिल्लाकाे पिपरा गाउँपालिकामा गत वर्ष भएको झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा पठाइएका ३ जनालाई उच्च अदालत जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ ।

पुस ४ गते न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको अभियोगमा पुर्पक्षमा रहेका बबलु झालाई २ लाख तथा सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही पाँच लाख धरौटीमा छोड्ने आदेश दियो। सुरेन्द्र र राजेन्द्र दाजुभाइ हुन्।यसअघि जिल्ला अदालत महोत्तरीले आरोपी तारादेवीलाई २ लाख तथा मृतक दम्पतीकी जेठी बुहारी अंशु झालाई ५० हजार धरौटीमा छोडिसकेको छ। हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत धनुषाकै निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा-५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनीका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा चलाउन आदेश दिएको थियो।

 

जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको अभियोगमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन्। प्रहरीले जानीबुझी हत्यामा संलग्न रहेकाहरुलाई बचाउनका लागि अनुसन्धानलाई नै कमजोर पारेको हरेन्द्रका छोरा केशव ठाकुरको आरोप छ।अदालतमा दिइएको बयानहरुमा मुख्य योजनाकारका रुपमा रहेका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने कैलाशले दिएको योजनामा संलग्न रहेकाहरुको नाममध्ये हरेन्द्रलाई मात्रै पुर्पक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रश्न खडा भएको अधिवक्ता देवेन्द्र ठाकुर निरालाले बताए।

 

गत वर्ष फागुन १० गते घरबाट पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो। हत्या गरिएको महिना दिनपछि २०७७ चैत १२ गते पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा पुरिएको अवस्थामा फेला पारिएको थियो।झा दम्पतीको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको थियो। जसमध्ये ५ जनालाई धरौटीमा छोडिसकिएको छ भने बाँकी ३ जनालाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको छ।

झा दम्पतीलाई गत वर्ष फागुन १० गते राति बेपत्ता पारिएको थियो। बृद्ध दम्पतीबारे पत्ता लगाउन नसकिरहेको बेलामा राष्ट्रव्यापी रुपमै दवाब परिरहेको थियो।सो घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरीले त गरि नै रहेको थियो त्यसमाथि प्रदेश प्रहरी कार्यालय र सीआइबीको टोलीले समेत छुट्टै अनुसन्धान गरिरहेको थियो। सीआइबीको टोलीले अनुसन्धान शुरु गरेपछि मात्रै गत वर्ष चैत १२ गते प्रहरीले झा दम्पतीको शव जमिन मुनि गाडिएको अवस्थामा फेला पारेको थियो।प्रहरीले झा दम्पतीको शव फेला पार्नुअघि गत वर्ष चैत ५ गते सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका-६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिएको थियो। शव भेटिएको ३ दिनपछि सहोडवाकै तारादेवी झा तथा उनको छोराहरू कैलाश झा र विकास झालाई पक्राउ गरेको थियो।
प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई पक्राउ गरिसकेको थियो। तर, हत्याको स्पष्ट कारण भने पत्तो लागेको थिएन।पछि प्रहरीको अनुसन्धानले भारतीय नागरिक हरेन्द्रले जग्गाकै लागि मुसाफिर झा र गीता देवी झाको हत्या गराउन लगाएको देखाइएको थियो। तर, हरेन्द्रको परिवारले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठाइरहेका छन्। जग्गाकै कारण आफ्नो बुवाले बृद्ध दम्पती गराएको प्रहरीको दावीमा कुनै आधार नरहेको हरेन्द्रका छोरा केशव दावी गर्छन्।

उनका अनुसार मुसाफिरको १४ कठ्ठा जग्गा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाको कित्ता नम्बर ४१८ मा रहेको छ। सोही ठाउँमा कित्ता नम्बर ३८१, ३८२, ६६८, ७४९, ७५०, ७७९, ७८०, ७२३, ७९८, ८२१, ८२२, ९०१ र ९०२ को जग्गा मिलाएर एउटै प्लटमा २ बिघामा फैलिएको हरेन्द्रको पोखरी छ।यसका साथै हरेन्द्रले त्यहीँ १८ बिघामा प्लटिङ गरेका छन्। प्लटिङमा माटो पुर्ने काम त्यही पोखरीबाट माटो ल्याएर गर्दै आएका थिए।प्रहरीका अनुसार सो प्लटिङबाट पोखरीसम्म पुग्नका लागि बाटो बनाउने आवश्यकता हरेन्द्रको थियो। जसका लागि मुसाफिरलाई जग्गा बेच्न दवाब दिएको र जग्गा बेच्न नमानेपछि उनको हत्या गर्न लगाइएको प्रहरीको दावी छ।प्रहरीको दावीमाथि प्रश्न उठाउँदै हरेन्द्रका छोरो केशवले भने, ‘मुसाफिर झाको जग्गा पोखरीभन्दा उत्तर तर्फ कित्ता नम्बर ९५ को विद्यालयको जग्गा, कित्ता नम्बर ९६ को चन्देश्वर ठाकुर र कित्ता नम्बर ५५८ को फेकु मुखियाको जग्गापछि मात्रै मुसाफिरको जग्गा पर्छ, मुसाफिरभन्दा पहिले यी दुईको जग्गा लिनु पर्ने आवश्यक्ता थियो। मेरो बुवाले यहाँ प्लटिङको कामको प्रगति नदेखेर यहाँको काम बन्द गरेर ४ वर्ष अगाडि नै काठमाडौंमा काम शुरु गरेका थिए।’
प्रहरीले हरेन्द्रलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरेको भनेको थियो। यद्यपि, हरेन्द्रको परिवारका अनुसार प्रहरीले उनलाई काठमाडौंबाटै पक्राउ गरेको थियो।हरेन्द्रको मुद्दा लड्दै आइरहेका अधिवक्ता देवेन्द्र ठाकुर निरालाले प्रहरीले अनुसन्धानलाई नै फितलो बनाएको आरोप लगाएका छन्।

उनले हत्यामा संलग्न रहेको मुख्य व्यक्ति कैलाशसँग हरेन्द्र न कहिल्यै फोनमा कुरा भएको र न कहिल्यै भेट भएको दावी गरे।उनले भने, ‘प्रहरीले अनुसन्धान कमजोर पार्नका लागि रामजी यादव, संतोष यादव, राममणिष यादव, हरेन्द्र ठाकुर, सोगारथ यादवको कल डिटेल लिइएकोमा रामजी, संतोष र राममणिषको कल डिटेलको रेकर्ड मिसिलमा शामिल गरिएको छैन।’
मृतक दम्पतीकी बुहारी अंशु झा, उषा झा, तारा देवी झा, बबलु झा र कैलाश झाको पोलिग्राफी टेष्टको रिपोर्ट मिसिलबाट गायब गरिएको अधिवक्ता निरालाले दावी गरे।मुसाफिर मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी थिए। उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर ११ वर्ष अगाडि अवकाश प्राप्त गरेका थिए। उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गासम्बन्धि कुनै समस्या हुँदा वा विवाद हुँदा उनलाई समाधानका लागि खोजी हुने गर्थ्यो। र, उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास समेत गर्ने गर्थे।मुसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर १ वगरामा रहेको एक मोही जग्गाको साक्षी बसेका थिए। गत वर्ष फागुन ११ गते सोही जग्गा विवादलाई लिएर जिल्ला अदालत महोत्तरीले फैसला सुनाउनेवाला थियो। तर, फागुन १० गते रातिनै उनीहरुको अपहरण भएको थियो। तर, प्रहरीले सो जग्गासँग जोडेर कुनै अनुसन्धान नगरेको अधिवक्ता निरालाको भनाइ छ।यसका साथै मुसाफिरको नातामा भतिजो पर्ने कैलाशले त्यहीँका ललित झालाई व्यापारका लागि भारतमा ट्रक खरिद गर्न आर्थिक रुपले सहयोग गरेका थिए। तर, ललितले पछि पैसा फर्काएनन्।

त्यसपछि कैलाशले मुसाफिरलाई बोलाई ललितलाई राखेर पंचैती गराउन लगाएका थिए। तर, तिमीसँग कागजात छैन, पैसा तिमीले पाउँदैनौँ भनी फैसला सुनाएका कारणले पनि कैलाशले मुसाफिरको हत्या गर्न सक्नेतर्फ अनुसन्धान नै नगरेको हरेन्द्रको परिवारले आरोप लगाएको छ।मृतक दम्पतीकै शव एक महिनासम्म थुनामा रहेका कैलाश झाको घरमा जस्ताको ठूलो बाकसमा राखिएको थियो। तर, प्रहरीले कैलाश झा अतिरिक्त उनको आमा तारा देवी झा, कैलाशलाई हत्या गर्नका लागि बृद्ध दम्पतीलाई बेहोस पार्न औषधि खुवाउने बृद्ध दम्पतीको ठूली बुहारी अंशु झा लगायतमाथि सही ढंगले अनुसन्धान नगर्नुले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिह्न खडा भएको अधिवक्ता निरालाको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी स्थानीय तारादेवी झासहित उनका दुई छोरा कैलाश र विकास झालाई सार्वजनिक गरेको थियो।पिपरा गाउँपालिका–५ स्थित सहोडवा बस्ने ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न रहेको महोत्तरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

आरोपित कैलाश झाको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइएको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्रीहरु समेत बरामद भएको थियो । झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले अघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्र यादव, भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो । २०७७ फागुन १० गते राति ओछ्यानबाटै बेपत्ता भएका झा दम्पतीको शव एक महिनापछि गाडिएको अवस्थामा पिपरा गाउँपालिका– २ स्थित अतरार जाने बाटोमा फेला परेको थियो ।

प्रतिक्रिया





Top