जनकपुर : काव्या अस्पतालकाे लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु, परिवारजनद्धारा तोड्फोड

मधेशपाटी अनलाइन     २०७८ माघ २६, बुधबार १८:१३ बजे मा प्रकासित


जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधामको विशिष्ट अस्पताल दाबी गर्दै आएको आएको काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमा सहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। काव्या अस्पतालको लापरवाही पछिल्लो समय ब्यापक देखिएको छ ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.७ किसानपुर बस्ने यैजुब अन्सारीकी २५ वर्षीया पत्नी मुर्सरफ खातुनको अप्रेसन भएपश्चात नवजात जुम्ल्याहा शिशु सहित मृत्यु भएको हो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले बिरामी र शिशुको मृत्यु भएको आरोप लगाएका छन् ।

गत सोमबार राति खातुनलाई उपचारका लागि काव्या अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेकी खातुनको सोही अस्पतालका डाक्टरत्रय मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेका थिए । अप्रेसन गरेर निकालिएका शिशुमध्ये एकको मृत्यु भइसकेको थियो भने अर्को शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर, केही घण्टामै सो शिशुको पनि मृत्यु भयो ।

चिकित्सकले शिशुलाई बचाउन नसके पनि आमालाई यही सञ्चो हुन्छ भन्दै उपचार जारी राखे पनि बुधबार बिहान ७ः४५ बजे उनको पनि मृत्यु भएको मृतकका पति यैजुबले बताए ।

यता, अस्पताल प्रशासनले भने महिलालाई भर्ना भएकै दिनदेखि प्लेटलेट्सको मात्रा कम भएकोले अस्पतालकै चिकित्सक डा. रमित राज लगायत अन्य कर्मचारीहरू मिलेर ६।७ पोका रगत दिई उनलाई बचाउने हर कोशिस गरेको दावी गरेका छन् ।

अस्पतालका सञ्चालक डा.एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरेका छन् । उनले एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक उपाय अवलम्बन गरिएको दावी गरे ।

महिलाको अवस्था भने क्रिटिकल हुन लाग्दा आफूहरूले बाहिर लग्न परिवारजनलाई जानकारी गराइ सक्दा समेत उनीहरूले उपचार जारी राख्न भनेपछि मात्रै अस्पतालले हरेक प्रयास गरेको डा। सिंहले बताए ।

यता, यैजुबले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसनपछि आमा र शिशुहरूको समेत मृत्यु भएको दाबी गरेका छन् ।

आमासहित नवजात जुम्ल्याहा शिशुको मृत्युपश्चात आक्रोशित बनेका पीडित परिवारले अस्पतालमा कार्यरत डा। रमित राजलगायत कर्मचारीहरूमाथि हातपात समेत गरेका छन् । उनीहरूले अस्पतालको एउटा एम्बुलेन्समा पनि तोडफोड गरेका छन् ।

केही दिनअघि मात्र सोही अस्पतालले बिरामीसँग ११ हजार २ सय रुपैयाँ लिनुपर्नेमा २२ हजार ८ सय ५० रुपैयाँको बिल बनाएर ठगी गरेको घटना समेत बाहिरिएको थियो ।

प्रतिक्रिया





Top