जनकपुरधाम । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छन्।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं.१९ साविकको वेगाशिपुर गा.वि.स.मा रहेको गाउँब्लकमा रहेकाहरूलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहीन भूमि पाउनबाट बञ्चित हुन नपरोस् भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम सुरू गरेको बताइन्।
मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरूको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै वास्तविक भूमिहीन कोही पनि भूमि प्राप्त गर्नबाट बञ्चित नहुन र गलत मान्छेले भूमि नपाऊन् भन्नेमा सबै चनाखो बन्नु पर्नेमा पनि जोड दिइन्।
मन्त्री श्रेष्ठले लालपूर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनुपर्नेमा समेत जोड दिइन्।
उनले भूमिविहीनहरूलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत सुरू भइसकेको बताइन्।
उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम सुरू गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि जानकारी दिइन्।
यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकाहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी थिइन्।
प्रतिक्रिया