जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको पहिचान र अधिकार थपेर संविधान संशोधनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
२७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको जनकपुरमा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले मधेसी जनताको नागरिकता, पहिचान र अधिकारका लागि जनयुद्धकालमा जसरी नै तागत लगाउने बताए।
‘मलाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाएर मेरो काँधमा ठूलो भारी बोकाएर पठाउनुभएको महसुस पनि भएको छ,’ उनले भने, ‘मधेसको नागरिकताको समस्या समाधान गर्न, मधेसको पहिचान र अधिकारसहित संविधान संशोधन गर्न र मधेसको
आत्मसम्मानलाई वृद्धि गर्न जसरी जनयुद्धको बेला हामीले सम्पूर्ण तागत लगाएका थियौं। फेरि एकचोटी मधेसका निम्ति तागत लगाउने प्रतिबद्धता व्यक्त गर्दछु।’
प्रचण्डले मधेस प्रदेशले एकता र जागरणको सन्देश दिएको बताए। उनले अब अन्य प्रदेश र संघीय सरकारले पनि यसको अनुशरण गर्नुपर्ने बताए। ‘मधेसले एकता र जागरणको सन्देश दियो,’ उनले भने, ‘अब सबै प्रदेश सरकार र संघीय सरकारले पनि या त
मधेसको अनुशरण गर्नुपर्छ नत्र भने अप्ठ्यारोमा पुग्नु पर्ने। यो सन्देश आज मधेसबाट गएको छ।’
गणतन्त्र, राष्ट्रिय स्वाधीनता र संविधान रक्षाका लागि बनाइएको गठबन्धन भत्काउने, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था उल्ट्याउन र निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको पनि दाबी गरे।
प्रतिक्रिया