कमला नदीमा चिनियाँ कम्पनीको डाेजर अवैध उत्खनन

न्यूज डेस्क     २०७८ फाल्गुन ४, बुधबार ०६:४३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा — पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले धनुषाको कमला नदीमा ढुंगा–गिट्टीको अवैध उत्खनन गरिरहेको खुलेको छ । नदीजन्य पदार्थ झिक्न कम्पनीले अनुमति लिएको छैन । नदीजन्य पदार्थको उत्खनन र ढुवानीमा प्रयोग गरिएका गाडी र उपकरणहरू धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

गणेशमान चारनाथ–५ स्थित कमला खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा आइतबार साँझ टिपर र एक्स्काभेटर नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । प्रहरीले ७ वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको हो ।

कमलाबाट अवैध उत्खनन गरेर लगेको ढुंगा–गिट्टी सिरहाको कर्जन्हास्थित यार्डमा कम्पनीले थुपारिरहेको थियो । स्थानीय सन्तोष साहका अनुसार करिब चार दिनदेखि कम्पनीले मेसिनबाट बालुवा–गिट्टी खनेर लग्ने गरेको थियो । ‘साँझको समय नदीमा मेसिन राखेर बालुवा–गिट्टी झिकिरहेको थियो,’ उनले भने, ‘स्थानीय प्रहरीले नटेरेपछि हामीले जिल्ला प्रहरीमा गुनासो ग¥यौं । बल्ल सवारीसाधन नियन्त्रणमा लिएका छन् ।’

उत्खनन स्थलमा प्रहरी पुग्दा चालकहरू फरार भएपछि टिपर र एक्स्काभेटर नियन्त्रणमा लिएको र यसबारे बुझ्न हालसम्म कोही नआएको पोर्ताहा प्रहरी चौकीका इन्चार्ज रामनाथ यादवले बताए । कारबाही प्रक्रियाका लागि स्थानीय तहमा बुझाउने तयारी इलाका प्रहरी कार्यालय ढल्केवरले गरेको उनले बताए । इलाकामा भने यसबारे कुनै जानकारी नआएको निमित्त प्रमुख प्रहरी सहायक निरिक्षक जयप्रसाद नेपालले बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि टिपर र एक्स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको बारे जानकारी नभएको बताए ।

जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव बनरैत यादवले भने कारबाहीका लागि आफूहरूसँग कुनै समन्वय नगरेको बताए । ‘नदीमा अवैध उत्खनन गर्ने उपकरण प्रहरीले नियन्त्रणमा लिए पनि कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाउँदैन,’ यादवले भने, ‘प्रहरीले आर्थिक लेनदेन गरी टिपर र डोजर छाड्ने गरेको हामीसँग थुप्रै जानकारी आएको छ ।’

यसैबीच, टिपर र एक्स्काभेटर छाड्न चिनियाँ ठेकेदार कम्पनीले जनप्रतिनिधिमार्फत धनुषा प्रहरीमाथि दबाब बढाएको छ । कर्जन्हा नगरपालिकाका उपमेयर ज्ञानु श्रेष्ठले कमलामा उत्खनन गर्न आफूले अनुमति दिएको भन्दै नियन्त्रणमा लिइएको सवारीसाधन छोड्न दबाब दिएको धनुषाका एक प्रहरी अधिकृतले बताए । ‘नियन्त्रणमा लिइएको सवारीसाधनमा उपमेयरको पनि गाडी छ,’ ती अधिकृतले भने, ‘उहाँले धेरै जोडबल गर्नुभयो । हामीले कारबाही प्रक्रियामा लाने भनेपछि शान्त हुनुभयो ।’ कम्पनीका प्रतिनिधिले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।Ekantipur.com

प्रतिक्रिया





Top