जनकपुर : जनमतका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै सिडिओ कार्यालय अगाडि चर्को विरोध र्या‍ली

न्यूज डेस्क     २०७८ फाल्गुन १०, मंगलवार १८:१३ बजे मा प्रकासित


जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले आज जनकपुरमा सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

जनमत पार्टीको आह्वानमा पार्टीका कार्यकर्ताले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारविरुद्ध चर्को प्रदर्शन गर्दै विरोध र्या‍ली निकालेका हुन् ।

किसानको समस्यालाई सम्बोधन गर्न ११ बुँदे विभिन्न मागसहित करिव दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताले निकालेको विरोध र्या‍ली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्सन गरेका थिए ।

रासायनिक मल र बिउ बिजनको अभावमा कतिपय किसानको खेत अझै बाँझो रहेको र नगदे बालीका रूपमा रहेका उखु किसानको बक्यौता रकम तथा उचित मूल्य निर्धारण हुन नसक्दा किसान खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेकोले किसानको माग अविलम्ब सम्बोधन गर्न जनमतले माग गरेको छ ।

जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । आफूहरूले किसानका मुद्दा सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने उनले चेतावनी दिएका हुन् ।

जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेको छ ।

प्रतिक्रिया





Top