जनकपुरधाम । मंगलबार जनकपुरधामस्थित शुभम होटलमा नेकपा एमालेको नगर कमिटी बैठक बस्यो । त्यसअघि सोमबार नै पिडारी चोकस्थित जानकी वाटिका पार्टी प्यालेशमा पनि एमालेकै बैठक बसेको थियो ।
फरक फरक ठाउँमा फरक फरक कार्यक्रम गर्ने यो नेकपा एमाले हो । नगरमा दुई वटा एमाले सक्रिय छन् । नगर अधिवेशनबाट निर्वाचित शुभनारायण मण्डल नेतृत्वको एउटा नगर कमिटी छ भने सुरेन्द्र भण्डारीलाई संयोजक बनाएर अर्को एमाले समूह छुट्टाछुट्टै क्रियाशिल छन् ।
दुबैले आ–आफ्नो कमिटी आधिकारिक भन्दै आएका छन् । भण्डारी नेतृत्वको नेकपा एमालेको नगर कमिटीको उपाध्यक्षमा संन्तोष कुमार महतो, सचिवमा राजु साह र उपसचिवद्वयमा रोका मिश्रा र दिपनारायण कुमार साह निर्वाचित भएका हुन ।
८५ सदस्यीय नगर कमिटीका संयोजक भण्डारीले आफूहरु आधिकारिक भएको दावी गरे । केही सदस्य यता उता नगरेर बसेकाले मण्डल समूहमा १० प्रतिशत मान्छे मात्रै रहेको संयोजक भण्डारीको भनाई छ ।
उनले पोलिटब्युरो सदस्य नेतृ जुलीकुमारी महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, गंगाराम यादव सहितको उपस्थितीका बिच भएको नगर अधिवेशन मान्य रहेको दावी गरे ।
सोमबार भएको भनिएको अर्को समूहको नगर अधिवेशन आधिकारिक नरहेको भन्दै भ्रममा नर्पन पार्टीका सबैतहसँग उनले आग्रह गरेका छन् । उनले आफ्नो पक्षको अधिवेशनमा २५ मध्ये २३ वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेकोले अधिकारिक रहेको बताए ।
यता, सोमबार नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनबाट पनि सर्वसहमत रूपमा ८५ सदस्यीय कमिटी गठन गरिएको थियो । शुभनारायण मण्डल नेतृत्वको नेकपा एमालेको नगर कमिटीको उपाध्यक्षमा महेन्द्र प्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सह–सचिवद्वयमा जय प्रकाश साह र रिता देवि साह रहेका छन् ।
सोमबार संयोजक तोकिएका शुभनारायण मण्डलले आफूहरु नै पार्टीको संस्थापन भएको बताए । अर्को टोली माथिदेखि नै समानान्तर कमिटी बनाएर गइरहेकाले त्यो पार्टी नीति, विधि र पद्धती विपरीत रहेको उनको भनाइ छ ।
उनले यसरी विभाजित भएर जाँदा जनतामा नैराश्यता छाएकाले एउटै भएर जाने गरी छलफल चलिरहेको पनि बताए ।
केन्द्रीय कमिटि बैठकका निर्णय, सर्कुलर अनुसार नै पार्टी काममा रहेकाले अर्को पार्टी छ/छैन भन्ने विषय महत्वपूर्ण नभएको उनले बताए ।
जनकपुरधाम नगरमा पार्टीका केन्द्रिय सदस्य यदुवंश झा र सचिव रघुवीर महासेठका समूहले छुट्टाछुट्टै अधिवेशन गरी समानान्तर कार्यसमिति गठन गरेका हुन् ।
झा पक्षधरका मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का तत्कालिन वडाध्यक्ष हुन । उनी भ्रष्टाचार आरोपमा निलम्बन भइसकेका छन । हालसम्म उनी भ्रष्टाचार मुद्दा खेप्दै नै आएका हुन भने महासेठ पक्षधरका भण्डारी ठेकेदार र व्यवसायी पेशाबाट आबद्ध हुन ।
यता विवाद बारे जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टी भित्र गुट उपगुट हावी भएकोले जिल्लाको विभिन्न स्थानीय तहमा विवाद र जनकपुरधाम उपमहानगरमा समानान्तर कमिटी नै गठन हुनु गलत रहेको बताए ।
प्रतिक्रिया