महिलालाई पनि सम्पत्तीको मालिक बनाउनुपर्छ : नेता महतो

न्यूज डेस्क     २०७८ फाल्गुन २४, मंगलवार २१:५९ बजे मा प्रकासित


बर्दिवास । नेकपा माओवादी केन्द्रका युवा नेता तथा वाईसीएल नेपालको मधेस प्रदेशका इन्चार्ज शंकर महतोले महिलाहरुलाई प्रतिनिधित्वले मात्रै नपुग्ने बताएका छन् । उनले अब महिलालाई नेतृत्वमा आवश्यक रहेको औल्याएका हुन् ।

सोमवार ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बर्दिवासमा आयोजित कार्यक्रममा बोल्दै नेता महतोले भने, ‘महिलाहरुको अधिकार प्रतिनिधित्वले मात्रै पुग्दैन । नेतृत्वनै चाहिन्छ । नेतृत्व दिनुपर्छ । अब प्रतिनिधित्वको गीत गाएर हुँदैन ।’

 

उनले महिलालाई सम्पत्तीको मालिक बनाइनुपर्ने पनि धारणा राखे । मधेसमा महिला हिंसा बढेकोप्रति नेता महतोले चिन्ता व्यक्त गरे । दहेजको कारणले महिलामाथि मटितेल खन्याएर आगो लगाइराखेको छ । गर्भमै लिंग पहिचान गरेर मार्ने कुराहरु भैराखेको छ,’ उनले भने ‘यसको एउटा उपाय महिलाको हकमा सम्पत्तीनै चाहिन्छ भन्ने हो । महिलालाई पनि सम्पत्तीको मालिक बनाउनुपर्छ ।’

 

आजकै दिनमा साहना प्रधानसहितकाले थालेको महिलाहरुको अधिकार प्राप्तिको आन्दोलनले महिलाहरुको हकमा ठुलो परिवर्तन ल्याएको उनले उल्लेख गरे । ‘पहिला एउटा नारीले आफ्नो वंशको आधारमा बच्चाको नागरिकता पनि बनाउन पाउँदैनथ्यो । एउटा समुदायको छोरी अर्को समुदायको छोरासँग विवाह गर्यो भने उनको बुवाको नाउँबाट मात्रै सर्टिफिकेट बन्दथ्यो । नागरिकता पाउँदथ्यो । छोरीलाई वंशको पनि अधिकार थिएन । तर आज त्यो अधिकार महिलाहरुको हातमा छ,’ नेता महतोले भने ।

 

‘पहिला एउटै कोखबाट जन्मेका छोरालाई समान अंश दिइन्थ्यो । छोरीलाई दिदैनथ्यो । तर आज दिदीबहिनीको सहमति बेगर दाजुभाईले अंशबण्डा गर्न समेत पाउँदैनन्,’ अगाडी बोल्दै उनले थपे । लैंगिक समानता बेगर जतिसुकै समृद्धको नारा दिएपनि सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न नसकिने उनले जिकिर गरे ।

 

महिलाहरुको जीवन भात पकाउने र लुगा धुनेमा मात्रै सिमित रहेको उनको कथन थियो । ‘महिलाको त्यो घरको कामलाई पनि म ठुलो मान्छु । एउटा पुरुष आज म पाँचहजार कमाएको छु भनेर घरमा धाक लगाउँछन् । महिलाहरु एकविहानैदेखि बेलुका सबै सुतिसकेपछि अनि मात्रै सुत्छन् । तर पनि उहाँहरुको कामको मुल्यांकन हुँदैन,’ आक्रोश पोख्दै नेता महतोले भने ‘अब महिलाहरु पनि आयआर्जनमा आफ्नो खुट्टामा उभिनुपर्छ ।’

 

महिलाहरु पदमा गएपनि सेवा सुविधामै रमाएर सिमित भएको उनले टिप्पणी गरे । महिला राष्ट्रपति पनि हुनुभो, सभामुख पनि हुनुभो । थुप्रै ठाउँमा पुग्नुभो । कोही मेयर हुनुहोला । कोही उपमेयर हुनुहोला । तर आज महिलाहरुको समस्या सामाधानको लागि उहाँहरुले के गरिदिनुभो ? प्रश्न उठाउँदै उनले भने ‘महिलाहरुको लागि कानून ल्याउनु पर्दैन? अझ थप कानूनहरु बनाउनु पर्दैन? तालिमको व्यवस्थाहरु गरेर महिलालाई सबल बनाउनुपर्ने थिएन?

 

महिलाहरु पद र पावरमा जाने तर सिटमै रमाउने प्रवृतिले कसैको भलो नहुने उनको टिप्पणी थियो । पदमा गएका महिला नेतृहरुले ठाउँमा रहेको बेलासम्मको हिसाब दिनुपर्ने उनले औल्याए । ‘पदमा बसेको बेलासम्म महिलाहरुको निम्ती केकति काम गरे त्यो हिसाब दिनुपर्छ, महिला नेतृ तथा नेताज्यूहरुले । सबैले हिसाब खोज्नुपर्छ,’ उनले भने ।

सजिलै तरिकाले यो व्यवस्था नआएको उनले स्मरण गराए । ‘यो व्यवस्था ल्याउन हजारौ–हजारले बलिदानी दिएको छ । हजारौ महिलाहरु विधवा भको छ । हजारौ बच्चाहरु टुहुरो भको छ । अनि बल्ल यो व्यवस्था आको हो । चुप लागेर बसेर केही पाईंदैन । महिलाहरु बोल्नुपर्छ । जाग्नुपर्छ,’ कार्यक्रममा बोल्दै नेता महतोले भने ।

 

‘समाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराकासाथ ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) र अखिल नेपाल महिला संघ(समाजवादी)को संयुक्त आयोजना तथा बर्दिवास नगरपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया





Top