रौतहटका प्रशासनले ‘म’विरुद्ध षड्यन्त्र गर्दैछ, आन्दोलनमा उत्रने चेतावनी : प्रभु साह

मधेशपाटी अनलाइन     २०७८ चैत्र ३, बिहीबार २२:४२ बजे मा प्रकासित


रौतहट । रौतहट प्रशासनले आफूविरुद्ध षड्यन्त्र गरिरहेको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रभु साहले आरोप लगाएका छन् । बुधबार राति रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ युवकको ज्यान गएको विषयमा उनी र उनका परिवारप्रति स्थानीय प्रशासन पूर्वाग्रही भ‌एर कदम चालिरहेको जनाउँदै उनले सतारुढ गठबन्धनको दबाबमा स्थानीय प्रशासनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई फसाउने मनासयले कदम चाले कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

उनले सवारी चालक पक्राउ परिसकेको अवस्थामा पनि सवारी धनीलाई अनावश्यक मुद्दा गरेर फसाउने षड्यन्त्र गरिरहेको भन्दै रौतहट प्रशासनले यसमा पक्षपाती व्यवहार गरिरहेको आरोप लगाएका छन् । नेकपा (एमाले)को बढ्दो लोकप्रियताले डराएका विपक्षीहरुले आफू र आफ्नो परिवारलाई जालझेल, षड्यन्त्र र अनावश्यक आरोप लगाउँदै आफू र एमालेलाई बद्नाम गर्न खोजेको उनको आरोप छ ।

 

उनले विपक्षीको षड्यन्त्रमा स्थानीय प्रशासन मतियार बनेर साथ दिने बाटोमा हिडेको भन्दै स्थानीय प्रशासनलाई सत्य, न्याय र निष्पक्षताको बाटोमा हिड्न सुझाए । बुधबार राति चन्द्रनिगाहपुरबाट आइरहेको बा १७ च ६१६३ नम्बरको पिकअपले हर्साहा चौकमा ठक्कर दिँदा बृन्दावन नगरपालिका–६ स्थानीय हर्साहाका ३५ वर्षीय जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षीय हरिकुमार ठाकुरको मृत्यु भएको थियो ।

प्रहरीले गाडी चालक मौलापुरका सञ्जय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ गरेको छ । मृतकका आफन्तहरुले हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै टायर बालेर प्रदर्शन गरेका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाले गाडीका मालिक नागेन्द्र साहविरुद्धको जाहेरी लिँदै अनुसन्धान अगाडि बढाएको छ । त्यसैगरी यसै घटनामा पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाहको पनि नाम जोडिएको छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ता र आन्दोलनकारीले कुशवाहा पनि सोही भ्यानमा सवार रहेको दाबी गर्दै उनलाई कारवाही हुनुपर्ने माग गरेका छन् । उनी सो दुर्घटना लगत्तै फरार भएको दाबी गर्दै उनीलाई फरार घोषणा गर्दै पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

तर, कुशवाहले आज जिल्लाको फतुवा विजयपुर नगरपालिकामा होली शुभकामना आदानप्रदान कार्यक्रमको तस्वीरहरु आफ्नो फेसबुक प्रोफाइलमा पोष्ट गरेका छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै षड्यन्त्रपूर्वक ढंगले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा राखेका समाचार र स्टाटसप्रति खेद प्रकट गर्दै घटनामा संलग्नलाई र चरित्र हत्या गर्नेहरूलाई तत्काल कारवाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

यता नेकपा एमाले मधेश प्रदेश उपसचिव आरती भण्डारीले पनि दुर्घटनालाई राजनीतिककरण गर्न लागेको भन्दै आफ्नो पार्टी र पार्टीका नेताहरुविरुद्धको षड्यन्त्रको भण्डाफोर गर्ने चेतावनी दिएकी छिन् । उनले दुर्घटना हुनु र ज्यान जानु निकै दुःखद् भ‌एको भन्दै दुर्घटनामा राजनीति गरेर निर्दोष फसाउने प्रपन्च गरे कडा प्रतिवादमा उत्रने चेतावनी दिइन् ।

प्रतिक्रिया





Top