शम्भु पण्डित ,जनकपुरधाम । तराई मधेशकाे ठाउँ ठाउ बिहिवार राती होलिका अथवा समन दहन गरिएको छ भने जनकपुर तिर शुक्रबार समन दहन गरिने बताएका छन । मैथिली परम्परा अनुसार विभिन्न किसिमको बाजा बजाएर जोगिरा गाएर होलिको पहिलो राती होलिका दहन गर्ने इतिहास रहेको छ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरमा होली मनाउने परम्परा छ । शुक्रबार अन्तरगृह परिक्रम सकिएपछि शनिबार होली मनाइने छ ।
फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । ‘होलिका दहन’को दिन राति गाउँ टोलका मानिसहरु परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गर्दछन् । ‘होलिका दहन’ भइसकेपछि होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन् ।
तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।
होलीको इतिहास
त्रेता यूगमा भगवान विष्णुका एक अवतार मानिने प्रह्लादसँग होली पर्वलाई जोडेर हेरिन्छ। हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनकी आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी स्वयम् भष्म भएको र त्यही दिनदेखि होलीका (होली) पर्व मनाउन सुरु गरिएको मान्यता छ। असत्यमाथि सत्यकाे विजय भएकाे रुपमा यस दिनलाई लिइन्छ।
फागुन शुक्ल चतुर्दशीका दिन रातमा होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि पूर्णिमाकाे बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। होलीलाई पुरानो कटुता समाप्त गरेर आपसमा मित्रता कायम गर्ने दिनको रुपमा समेत लिने गरिएको जानकारहरु बताउँछन्।
एक अर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर मनाइने होली, यो वर्ष पहाडमा चैत ३ र तराइका जिल्लामा चैत ४ र ५ गते शनिबार मनाइनेछ्न।
प्रतिक्रिया