जनकपुर: पञ्चकोषी अन्तरगृह परिक्रमा घुम्ने क्रम जारी, लाखौँ लाखको सहभागिता

मधेशपाटी अनलाइन     २०७८ चैत्र ४, शुक्रबार ०६:५६ बजे मा प्रकासित


अजय पण्डित ,जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा जारी रहेको छ ।

अन्तरगृह परिक्रमामा लाखौँ लाखको श्रद्धालुहरुको सहभागिता रहेको देखिएको छ । अन्तरगृह परिक्रमा घुम्ने क्रम शनिबार मध्यरातदेखि नै सुरु भएको छ ।

 

१५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त एवं भक्तजनहरुको लावालस्कर हिजाे साँझ जनकपुरधाम आइपुगेको थियो । आज बिहान यहाँ पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी परिक्रमामा सहभागीहरु आ-आफ्नो घर फर्कने छन् ।

मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने मान्यता छ ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । प्रत्येक वर्ष झैं यस वर्षपनि अन्तरगृह परिक्रमामा श्रद्धालुहरूको भीड देखिएको छ ।

मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तरगृह गरी तीनवटा परिक्रमाको बारेमा उल्लेख रहेको पाइन्छ ।

जनकपुरधाममा शनिबार होली पर्व मनाइदै छ । आज अन्तरगृह परिक्रमा समापन भएपछि भोली होली पर्व मनाउन लागिएको हो ।

 

अन्तरगृह परिक्रमामा सहभागि साधुसन्त एवं भक्तजनहरुका लागि यहाँका स्थानीय संघसंस्था एवं यूवा क्लवहरुले ठाउँठाउँमा निःशुल्क स्वास्थ्य शिविर, चिया, खाजा लगायतका व्यवस्थापन गरेका छन् ।

प्रतिक्रिया





Top