सशस्त्रकै सेटिङमा खुलेआम तस्करीः ठूला तस्करलाई स्कटिङ, झोलेपोकेलाई सास्ती

न्यूज डेस्क     २०७८ चैत्र ६, आईतवार २२:३४ बजे मा प्रकासित


बीरगंज । सीमा सुरक्षा र सीमा क्षेत्रबाट हुने अबैध चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै संरक्षणमा पर्साका विभिन्न नाकाबाट तस्करी बढेको छ । स्थानीय चुनाव नजिकिएसँगै देशमा निर्वाचनको चहलपहल बढेको छ र राजनीतिकर्मीहरु चुनावको तयारीमा जुटेको बेला सशस्त्रका एसपी कमाउनतर्फ लागेका छन् ।

सशस्त्र प्रहरीका एसपी तेज पोखरेल आएपछि तस्करीमा केही कडाई गरे जस्तो देखिएको पनि छैन र तस्करीमा कुनै कमी पनि आएको को छैन, बरु झन् बढावा दिएको आरोप छ । सानातिना झोलेपोके सीमामा रहेका असहाय महिलाले जीविकोपार्जन गर्न ल्याएको २-४ पिस समान खोस्ने र साइकलमा ल्याउनेहरुको समान समातेर सशस्त्र प्रहरीले तस्करी गरेको सामान पक्राउ गरेको काम देखाउन प्रचार गराउन खोजे पनि संस्थागत तस्करी भने रोकिन सकेको छैन ।

जीवीकोपार्जनका लागि झोलामा १–२ हजारको सामान ल्याउने महिलालाई सशस्त्र प्रहरीले यसरी दुब्यर्वहार गर्ने गरेका छन् ।
पर्सामा भारतसँग जोडिएको सिमानाकामा २४ वटा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बीओपी) छन् । ती बीओपीको काम भन्सार छली हुने सामान आयात निर्यात रोक्ने पनि हो । तर, सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट हुने भन्सार छली गर्नेहरूलाई नियन्त्रणमा लिनेभन्दा पनि सेटिङ गरी तस्करीको लाइन चलाउने गरेको स्थानीयको आरोप छ ।

‘म पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न ।’ यो कुरा सशस्त्र प्रहरीको बीओपीदेखि गण, बाहिनी र मुख्यालयसम्मको मूलगेटमा उल्लेख गरिएको देख्न पाइन्छ । तर, व्यवहार त्यसको ठीक विपरीत देखिएको एपीएफका अधिकृतहरू नै बताउँछन् । सशस्त्रका एक जुनियर अधिकृत भन्छन्–‘सीमा सुरक्षा सम्बन्धी दशैं तिहारमा गोष्ठी या कुनै मिटिङ होस् या भखरै होली भन्दा ५ दिन पहिला बर्दिबासमा चैत १ मा भएको मधेश प्रदेश भरिका इन्स्पेक्टरहरुको मिटिङ होस्, हरेक बीओपीबाट, गण र बाहिनी प्रमुखले दररेट तोकेर रकम माग्ने गरेका छन् । त्यो रकम कहाँबाट दिने ? तलबभत्ताबाट दिने कुरा भएन । कहीँ न कहीँबाट त लिनुपर्यो ? यस्तै कारण तल्लो तहका प्रहरी अधिकारीहरू भ्रष्टाचार गर्न बाध्य हुने गरेका छन् ।’

प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगर र जिल्ला प्रमुख एसपीले कडाई गरे तस्करी हुनै सक्दैन, तस्करीको बारेमा नागरिकले सशस्त्रलाई सूचना दिंदा गाडीको टायर पन्चर भएको छ भनेर बाहिनीकै अधिकारीले भन्ने गरेको ग्ुनासो यत्रतत्र सुनिन्छ । सशस्त्र प्रहरीभित्र मधेश प्रदेशको इन्चार्जमा जाने डीआइजी र गणका एसपीले सीमा क्षेत्रमा सेटिङ गरी महिनावारी घुस तोकेर लिने गरेकाले मातहतकाले माथि बुझाउने भन्दै घुस असुल्ने गरेको स्रोत बताउँछ । यतिबेला पर्साका भन्सार नाकाहरु इनर्वा गाउँ, छपकैया, सिर्सिया ड्राईपोर्ट, अलौ, बारवा, अमरपट्टि, धोरे खेस्राहा, सबैठ्वा, पाँडेपुर, पिडारीगुठी, महादेवपट्टि, सुवर्णपुर, विजयबस्ती लगायतका एक दर्जन बढी नाकाहरुबाट सामानहरु तस्करी भइरहेको छ ।

यसरी अवैध रुपमा ठूलो मात्रामा नेपालबाट दैनिक लाखौँ लाख मूल्य बराबरको सुपारी, केराउ, मरिच, चीनमा बनाइएको युनिलिभर उल्लेख गरिएका नक्कली फेयर एण्ड लब्ली, क्लोजअप दन्तमन्जन जस्ता कस्मेटिक सामान, पेट्रोलियम पदार्थ, नेपाली मदिरा, कबाडी, लागूऔषध गाँजा नेपालबाट भारततर्फ तस्करी गर्न छुट दिएका छन् ।

भारतका विभिन्न बजारहरुबाट राजस्व छली गरेर लत्ताकपडा, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, माछा, कम्प्युटर तथा गाडीका पार्टपूर्जा, पशुचौपाया, मोटरपार्टस्, भाँडा, सुर्र्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन सिमेन्ट, चिनीलगायतका सामानहरू भित्र्याउने काम गरे पनि यसलाई सशस्त्र प्रहरीले नै संरक्षण गरिरहेको तथ्य खुलेको छ ।

वीरगंज महानगरमा पर्ने नाकाहरुमा तस्करीको लाइन पाउनेहरुमा नमुदत मदन रुन्चे, लालबाचा भने लालबाबु, बैनाथ यादव, तिवारी, रंगीला, अशोक, अनिल, जटाधारी र मोछुलाई कपडाको लाइन दिइएको छ । बिबेक, रञ्जित, सुकेशले कपडाका अलावा जुत्ता चपलको लाइन पाएका छन् । मञ्जु पटेललाई भेटनरी, मोबाइल तथा कम्प्यूटर पार्ट्स र हार्डवेयर अवैध रुपमा ल्याउन छुट दिइएको छ । मनोजलाई मोबाइल पाटर््स र इलेक्ट्रोनिक समानका अतिरिक्त मोटरपार्ट्सको लाइन दिइएको समाचार स्रोतले जानकारी दिएको छ ।

सिर्सियाबाट सशस्त्र प्रहरीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा हरेन्द्र पटेल, धुरेन्द्र, दिनेश, वकिल, झुनझुन, माष्टर, इस्लाम, बबन, सलमान, ललिता, अम्बे, बक्सिस, इन्दु, मन्जु समूह, राम्बा समूह, बेचु समूह, शिला समूह र मिला समूह रहेका छन् ।

तस्करी हुने सामानहरूमा कपडा बढी मात्रामा हुने गरेको छ भने अन्य सामान तस्करी पनि यो नाकाबाट हँुदै आएको छ । छपकैयाबाट तस्करीको लाइन पाएका पशुपति यादवले भारतबाट काजु र रेडबुल भन्सारछली गरी ल्याउने गरेका छन् ।

यस्तै तिलावे बारवा र अमरपट्टिबाट बब्लु यादव र भुवन यादव भैसीको लाइन पाएका छन् भने अनुपले चल्लाको लाइन पाएका छन् । प्रसौनीभाठाबाट अलि र नौसादले भैंसीको लाइन पाएका छन् । तस्करहरुले बीओपी प्रमुख, गणपतिदेखि बाहिनीपतिसम्मलाई नजराना बुझाएका कारण प्रहरीकै अगाडिबाट चोरी तस्करी भन्सार छलीका सामानहरु ओहोरदोहोर गरिरहेको भएता पनि प्रहरी भने मूकदर्शक बनेको स्थानीयले बताएका छन् । पर्साको ग्रामीण क्षेत्रको पश्चिमी उत्तरी भेगको पाण्डेपुर र पिडारी नाकाबाट राँगा, भैंसी व्यापक मात्रामा नेपालतर्फ ल्याइरहे पनि सशस्त्र प्रहरीले रकम बुझी मौनधारण गरेको देखिन्छ । भारतबाट ल्याएका भैंसी ब्यापारीले सशस्त्र प्रहरीकै रेखदेखमा भैंसी सुरक्षित रुपमा जगरनाथपुर भैंसी हाटबजारसम्म पुर्याउने गरेका छन् ।

भारतका बिभिन्न ठाँउबाट भैंसी, राँगा किनेर पाण्डेपुर पिडारी नाकाबाट आउने गरेको र त्यसबापत प्रहरीले मासिक रुपमा रकम उठाउने गरेको छ । तस्करहरुका समूहले सशस्त्र प्रहरीकै सहयोगमा भारतबाट अबैध रुपमा भन्सार छलेर भित्र्याएका समानमध्ये थोरै समानको भन्सार तिरी ट्रक र पिकअपमा बढी समान हालेर नेपालका बिभिन शहर पठाउने गर्छन् । त्यसरी सशस्त्रको बीओपीबाट पार भएको सामान नेपाल प्रहरीले धमाधम पक्राउ गरेको बाट प्रमाणित हुन्छ । बीरगंज नाका हुँदै ८ वटा चेकिङ पार भएर आएका कपडा केही दिनअघि चितवनमा बरामद भएबाट पनि तस्करी निर्वाध हुँदैआएको पुष्टि गर्दछ ।

सशस्त्र प्रहरीले प्रत्येक व्यापारीमार्फत् भन्सार छली गराएबापत मासिक लाखौं रकम दर नै तोकेर लिने गरेका कारण कसैले तस्करीमा अबरोध नगरेकै कारण चितवनमा कपडा बरामद भयो । तर त्यो बरामद कपडा पनि राजस्व अनुसन्धानको पथलैया कार्यालयमा बुझाउनुपर्नेमा भन्सारमा पठाउन तस्करहरु सफल भएका छन् । राजस्व चुहावट ऐन २०५२ अनुसार कारबाही हुँदा बिगो बराबर तिर्नुपर्ने भएपछि तस्करहरुले प्रहरीलाई प्रभावमा पारी भन्सार कार्यालयमा पठाउन लगाएको खुलेको छ ।

सशस्त्रले मासिक दररेट तोकेर सेटिङमा उक्त व्यापारीहरुका सामानलाई स्कटिङ गर्दै नाका कटाउने गरेको स्रोतले बताएको छ । केही हप्ता अगाडि सिमानाकामा रहेका सशस्त्र प्रहरीकै संरक्षणमा भन्सार राजस्व छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको ६५ पोका कपडा बीरगंज–२४ रामगढवास्थित लक्ष्मणप्रसाद कुर्मीको २ तल्ले घरको भुइँ तल्लामा रहेको ३,४ र ५ नम्बरको ३ वटा सटर कोठाबाट माथिल्लो निकायको दबाबमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले बरामद गरेको सार्वजनिक भएको थियो । बीरगंजबाट व्यापक तस्करी भैरहेको र तस्करीमा सुरक्षाकर्मीको संलग्नता रहेको समाचार बिभिन्न संचारमाध्यमहरुमा बाहिरिए र व्यापारीले प्रहरीलाई पैसा दिएको अडियो लिक भएपछि माथिल्लो निकायको दबाबमा उक्त सामान पक्राउ गरिएको थियो ।

रकम पनि लिने अनि सामान पक्राउ गर्ने भनी तस्करदेखि व्यापारीहरूले बदनाम गर्ने भएपछि सशस्त्र प्रहरीले भन्सारका कर्मचारीलाई अगाडि सारेर उक्त सामान बरामद गरेको थियो । ताकि आफूले गरेको नदेखियोस् भनेर सशस्त्रले उक्त तरिका अपनाएको थियो । प्रहरीको सेटिङमा कसरी तस्करी हुन्छ भन्ने पछिल्लो उदाहरण चितवनबाट बरामद भएको कपडाले पुष्टि गर्दछ । फागुन ११ गते राति २ बजे प्रहरीले पूर्वी चितवनको खैरहनी पर्सा बजारबाट ८६ पोका कपडा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले चारवटा ट्रकमा ल्याइएको करिब डेढ करोड बराबरको कपडा बरामद गरेको हो । फलामको छड ढुवानी गरेको ट्रकमा लुकाएर ल्याएको अवस्थामा बरामद गरेको थियो ।

दैनिक जीविकोपार्जन गर्न १-२ हजार रुपैयाँको समान एउटी महिलाले ल्याएकी थिइन् र उनलाई सिमानाकामा नरोकी बीरगंजको मुख्य बीच बजारमा लछारपछार गरी ठूलो अपराध गरे जस्तो कुटपिट गरिएको थियो । सशस्त्र प्रहरी सिमानाकामा नै छ तर कसरी भित्रिन्छ ट्रकका ट्रक कपडादेखि अनय समानहरु ? झोलेपोकेलाई समातेर दुब्यर्वहार गर्ने तर ठूला तस्करलाई छुट दिने कार्य सशस्त्रका बीओपीका इन्चार्जहरुले गरेका छन् । ठूलालाई चैन र सानालाई ऐन लगाएर विभेद गरेको झोलामा सामान ल्याउने महिलालाई गरिएको कुटपिटको तस्बीरले नै प्रस्ट हुन्छ ।

प्रतिक्रिया





Top