मधेश प्रदेश स्तरीय प्रशिक्षणमा मातृका गएनन्, प्रचण्डले भने : यसले उहाँलाई भलो गर्दैन

मधेशपाटी अनलाइन     २०७८ चैत्र ८, मंगलवार २२:०७ बजे मा प्रकासित


जनकपुरधाम । माओवादी केन्द्रले मंगलबार जनकपुरमा आयोजना गरेको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा नेता मातृका यादव उपस्थित नभएकोप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्।

मधेशका प्रभावशाली नेता मातृका यादव माओवादीको प्रदेशस्तरीय कार्यक्रममा उपस्थित नभएकोप्रति यतिबेला विभिन्न टिकाटिप्पणी भइरहेको छ।

नेता यादव कार्यक्रममा किन उपस्थित भएनन् खुलिसकेको छैन। तर, उनी जनकपुरमै भएर पनि कार्यक्रममा उपस्थित नभएका हुन्।

दिउँसो करिब १२ बजे प्रचण्ड जनकपुर एयरपोर्टमा उत्रिँदा यादव पनि प्रचण्डको स्वागतमा विमानस्थलमा पुगेका थिए। तर, माओवादीका नेता कार्यकर्ताले माला लगाउँदै प्रचण्डलाई स्वागत गरिरहँदा यादव भने परै बसेर त्यो दृश्य हेरिरहेका थिए। उनी उत्साहित देखिँदैनथे।

त्यहाँबाट प्रचण्ड जनकपुरकै वेलकम होटलमा पुगे। जहाँ माओवादीका केन्द्रीय स्तरका धेरै नेता भेला भएका थिए। तर, मातृका यादव त्यहाँ पनि गएनन्। मातृका यादवले आफू प्रशिक्षण कार्यक्रममा उपस्थित नहुने जानकारी गराएको पाइएको छ।प्रशिक्षण कार्यक्रमको अन्तिममा प्रचण्डले मातृका यादव कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाए।

‘मैले उहाँलाई पटकपटक तपाईं कार्यक्रममा आउनुपर्छ भनेँ, तर उहाँ आउनु भएन,’ प्रचण्डले भने, ‘यत्रो ठूलो कार्यक्रम मधेशमा हुने, मातृका यादव उपस्थित नहुने। यो तरिका विल्कुल बेठीक हो। यसले पार्टीलाई भलो हुँदैन, तपाईंलाई पनि भलो हुँदैन।’

त्यसक्रममा प्रचण्डले मातृका यादवले विगतमा माओवादी छाडेको प्रसंग पनि सम्झिए ।

‘तपाईंले विगतमा प्रचण्डसँग बस्न सकिँदैन भनेर पार्टी छाडेर हिँड्नुभयो,’ प्रचण्डले यादवको गतिविधिप्रति असन्तुष्टि जनाउँदै भने, ‘धेरै दुःखकष्ट भोगेर फेरि नेपालको नेता त प्रचण्ड नै हो भनेर आउनु भयो। अहिले हत्त न पत्त बैठक छोडेर किन हिँड्नु भएको ?’

प्रचण्डले महोत्तरीका माओवादीका केही नेताले पार्टीबाट राजीनामा दिएकोप्रति पनि असन्तुष्टि व्यक्त गरे।

माओवादीले संसदबाट एमसीसी पारित गरेपछि माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगानासहित चारजना नेताले पार्टी परित्याग गरेका छन्। प्रचण्डले उनीहरु फेरि पार्टीमै फर्किने विश्वास व्यक्त गरे। नेपालखवरबाट ।

प्रतिक्रिया





Top