धनुषामा गैर जिम्मेवार भन्दै बरकुर्वा मावीका प्रअ साहलाई हटाए अर्को प्रअ पण्डित नियुक्त

मधेशपाटी अनलाइन     २०७८ चैत्र ११, शुक्रबार १०:४५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वास्थित रहेको श्री फकिर चन्द गामी मावि बरकुर्वाका प्रधानाध्यापक बैजु कुमार साहलाई प्रअको जिम्मेवारीबाट हटाएर शोभित पण्डितलाई निमित्त प्रअ नियुक्त गरिएको छ । गत आइतवार विद्यालयमा व्यवस्थापन समितिको अगुवाईमा भएको सर्वपक्षिय भेलाबाट साहलाई प्रअबाट हटाएर शिक्षक सरह काम गर्न दिने र शंकाष्पद कामहरुको अनुसन्धान गरिने सर्वसम्मत निर्णय गरिएको थियो ।

विद्यालयको सम्पती रहेको तत्कालिन तेजनगर गाविस र हाल धनुषाधाम नगरपालिकाको जानकी निवासमा रहेको ११ बिघ्घा जग्गा विद्यालयकै रहेको प्रमाण रहेपनि स्पष्टीकरण सोध्दा प्रअले शंकाष्पद रुपमा त्यो जमिन विद्यालयको नरहेको जवाफ दिएपछि हलचल मचेको थियो ।

यस बारे बुझन नगरपालिकाका मेयर विजय शंकर प्रसाद साह, वडा अध्यक्ष प्रदिप महतो, विद्यालयका पुर्व प्रअ बेचन साह, दाता परिवारका घनश्याम नायक, प्रदिप गामी सहित सवै राजनितिक दलका अगुवा उपस्थित भेलाले प्रअ साहले गैरजिम्मेवारी काम गरेको र भेलामा उपस्थित नभई थप शंकाष्पद बनेकाले अनुसन्धानका लागि उनलाई प्रअबाट हटाउने निर्णय गरिएको वि.व्य.समिति अध्यक्ष विनोद कुमार पालले बताए ।

साथै भेलाले प्रअ, लेखापाल वा शिक्षकको नाममा रहेको सम्बन्धित विद्यालयको खाताहरु तत्काल रोक्का गर्ने समेत निर्णय भयो पालले भने, ‘हामीले विद्यालयको शिक्षक पण्डितलाई कार्यवाहक प्रअको जिम्मेवारी दिएका छौं ।’ उनले विद्यालयको सम्पतीलाई हाम्रो होइन भन्दै लिखित जवाफ दिने प्रअ साह कार्यकालको गतिविधीको व्यापक छानविन हुने समेत बताए ।

एता प्रअ साहले भेलामा आफुलाई बोलाइएपनि असुरक्षाका कारण आफु पुग्न नसकेको बताए । आफु उपर केहि दिन पुर्व आक्रमण भएकाले आफु असुरक्षित महशुस गरिरहेकाले भेलामा जान नसकेको र भेलाले त्यस्तो निर्णय गरिदिएको बताउदै उनले के गर्ने भन्ने विषयमा छलफल गरिरहेको बताए ।

प्रतिक्रिया





Top