बाटो विषयमा दुई समूहबीच झडप हुँदा जसपाका प्रमुख सचेतक साह घाइते, हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी

न्यूज डेस्क     २०७८ चैत्र १२, शनिबार १२:०१ बजे मा प्रकासित


जनकपुरधाम ।  बाटो विस्तार गर्ने विषयमा सर्लाहीमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साह घाइते भएका छन्।

शनिबार बिहान ईश्वरपुर नगरपालिका-६ बयलबास बजारमा बाटोको विषयमा दुई समूहबीच झडप हुँदा सर्लाही क्षेत्र नम्बर १ का सांसद साह घाइते भएका हुन्।

टाउकोमा चोट लागेका सांसद साहलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी प्रहरीको छ।

इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार बिहान बाटोछेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो।

सांसद साहले उक्त भवन त्यही ठाउँमा नभएर अन्यत्र बनाउनुपर्ने भनेपछि युवाहरू आक्रोसित भएको प्रहरीले जनाएको छ।

भवन त्यही ठाउँमा बनाउने वा सार्ने विषयमा युवाहरू विभाजित हुँदा झडप सुरू भएको थियो। अहिले स्थिति सामान्य रहेको ढुंगानाले बताए।

प्रतिक्रिया





Top