धनुषा: सबैलामा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका ४ जना बालकको सामूहिक अन्त्येष्टि

न्यूज डेस्क     २०७८ चैत्र १५, मंगलवार २२:३६ बजे मा प्रकासित


शलेन्द्र महतो ,जनकपुरधाम । धनुषा जिल्लाको सबैलामा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका ४ जना बालकको सामूहिक अन्त्येष्टि गरिएको छ।

मंगलबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम पश्चात अन्त्येष्टि गरिएको हो। जनकपुरधामको स्वर्गद्वारी स्मसानघाटमा चारैजना मृत बालकको सामूहिक अन्त्येष्टि गरिएको स्थानीय कारी यादवले जानकारी दिए।

गाउँमा शव लगे मृतक परिवारको अवस्था झनै बिग्रिने सम्भावनालाई मध्यनजर गर्दै जनकपुरमै अन्त्येष्टि गरिएको हो।

बालकहरुको अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादव, माओवादी नेतृ समेत रहेकी संघीय सरकारका विज्ञान प्रविधि तथा शिक्षा मन्त्री बोधमाया यादव सहभागी भएका थिए। दुवैजनाले मृतकहरुको पार्थिव शरीरमा मल्यापर्ण गर्दै अन्तिम श्रद्धान्जली दिएका थिए। मृतक बालकहरु नेता मातृका यादवका छिमेक हुन्।

पाँचजना सबार मोटरसाइकल सबैला नगरपालिका १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा दुर्घटना हुँदा चारजना बाकलको मृत्यु भएको थियो।

दुर्घटनामा सबैला नगरपालिका २ का सन्तोष यादका छोरा १५ वर्षीय राहुल यादव, वर्ष १२ का लक्ष्मी यादव, रामपुकार यादवका १४ वर्षीय छोरा सुमित यादव, बद्री यादवका १२ वर्षीय छोरा बौका भन्ने विकास यादवको मृत्यु भएको थियो।

दुर्घटनामा स्थानीय रामबहादुर यादवका १९ वर्षीय छोरा सुरेन्द्र यादव गम्भीर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।

उनीहरु रघुनाथपुर बजारबाट मासु खाएर फर्किँदै गरेको बेला दुर्घटना भएको खुलेको छ। प्रहरीका अनुसार राहुल यादवले हेल्मेट बिना ज ६ प ६७३९ नम्बरको मोटरसाइकल चलाउँदै थिए। दुर्घटनाले सिंगो गाउँनै शोकमा डुबेको छ।

 

प्रतिक्रिया





Top