रेल चढ्न लागि पहिचान कागजात अनिवार्य

न्यूज डेस्क     २०७८ चैत्र १९, शनिबार ०६:१४ बजे मा प्रकासित


जनकपुरधाम । रेल चढ्न टिकट काट्नका लागि पहिचानपत्र अनिवार्य गरिएको छ । खुल्ला सीमा र सुरक्षालाई मध्य नजर गर्दै रेल चढ्न केही कागजात अनिवार्य गरिएको छ ।

नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने बताइएको छ । नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भए पनि चढ्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । आकस्मिक प्रवेशकालागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।

 

१० देखि १८ वर्ष उमेरका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ । यता जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा दर निर्धारण गरेको छ । सो अनुसार जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १ सय २५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १ सय ७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । यस्तै, खजुरी पुग्न सामान्य कोचमा ५५ रुपैयाँ र एसी कोचमा २ सय ७५ रुपैयाँ, इनर्वा पुग्न सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३ सय रुपैयाँ तथा जयनगर पुग्न सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३ सय ५० रुपैयाँ भाडा दर तोकिएको छ ।

प्रतिक्रिया





Top