शम्भु पण्डित ,जनकपुरधाम । धनुषा सबैला प्राथमिक स्वस्थ्य केन्द्रमा ७ दिन तालिम सम्पन्न भएको छ । स्वास्थ्यकेन्द्रमा र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज सबैलामा सम्पन्न भएको छ । धनुषाको सबैला नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरिएको हो ।
पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेजसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । यसैगरी पोषणसम्बन्धी व्यवहार सुधारका लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सिप तथा धारणामा सकारात्मक परिवर्तन गर्न प्रोत्साहन गर्ने उद्देश्य समेत राखिएको थियो ।
तालिममा राष्ट्रिय पोषण कार्यक्रम, नीति र रणनीति, बहुक्षेत्रीय पोषण योजना, खाद्य विविधिकरण र स्थानीय खानेकुराको महत्व, किशोरावस्था तथा मातृ पोषण, स्तनपान, पुरक वा थप खाना, बहुसुक्ष्म पोषक तत्वहरु, वृद्धि अनुगमन र यसको महत्व, बाल संरक्षण अनुदान र शिशु तथा बाल्यकालीन पोषणबीचको सम्बन्ध, बिरामी बालबालिकाहरुको खाना र हेरचाह, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमको बारेमा जानकारी, बहिरङ्ग सेवाको परिचय, मध्यम तथा शीघ्र कुपोषणलगायत विविध विषयहरुमा सहजीकरण गरिएको छ ।
तालिमको सबैला नगरपालिकाका नगर प्रमुख बिजय शंकरप्रसाद साह सबैला स्वास्थ्य सहसंयोजक संजय मण्डल , स्वास्थ्यकेन्द्रका इन्चार्ज रामदुलार यादव कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृतले सहजीकरण गर्नुभएको थियो । ७ दिनसम्म चलेको तालिममा सबैला नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन गर्दै सबैला नगरपालिकाका नगर प्रमुख बिजय शंकरप्रसाद साह तालिममा सिकको ज्ञान, सिप र धारणालाई व्यवहारमा उतारेर आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्न सहभागीलाई सुझाव दिनु भएको थियोे ।
प्रतिक्रिया