काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारलाई नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाइने भएको छ । विदेश जाने कामदारले श्रम स्वीकृति लिने व्यवस्था २ वैशाखदेखि खारेज गर्ने वैदेशिक रोजगार विभागको तयारी छ ।
सम्बन्धित मुलुकले भिसा जारी गरेपछि फेरि आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनावश्यक भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । उनले भने, ‘कामदार रोजगारीका लागि जुन मुलुकमा जाने हो, सोही मुलुकसँगै श्रम स्वीकृति लिनुपर्छ ।’
नागरिकले सरकारबाट पासपोर्ट पाउनु भनेकै कुनै पनि मुलुकमा जान योग्य भएको प्रमाण हो । त्यस्तै, गन्तव्य मुलुकले कामदारको नाममा भिसा जारी गर्नु भनेकै कामदारलाई आफ्नो मुलुकमा काम गर्नका लागि स्वीकृति दिनु हो ।
तसर्थ, कामदारले आफ्नै मुलुकबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेर वैदेशिक रोजगारीलाई झन्झटिलो बनाएको विभागका महानिर्देशक पौडेलको भनाइ छ । ‘भिसा पाइसकेपछि पनि पहिलो श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति, यो अनावश्यक झन्झट हो । यसलाई बिस्तारै हटाउनुपर्छ,’ उनले भने ।
त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका सल्लाहकार डा. केशव बस्यालले पनि भिसा पाइसकेपछि कामदारले नेपालबाट फेरि श्रम स्वीकृति लिनुनपर्ने बताए ।
‘सम्बन्धित मुलुकले पनि कामदारका नाममा भिसा जारी गरेपछि आफ्नो मुलुकमा प्रवेश अनुमति दिएको मानिन्छ,’ उनले भने, ‘हामी आफैँ नियम बनाउँछाैँ । त्यही नियमले नै हामीलाई अप्ठ्यारोमा पार्छ । आफ्ना कामदारलाई आफैँले दिने होइन । गन्तव्य मुलुकले दिने हो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन् ।
प्रतिक्रिया