गाउँपालिकाका कार्यालयबाट राजस्व शाखाका सुब्बा यादवले ३४ लाखभन्दा बढी राजस्व गायब

मधेशपाटी अनलाइन     २०७८ चैत्र २७, आईतवार १४:३९ बजे मा प्रकासित


 

जनकपुरधाम । एक गाउँपालिकाका नायब सुब्बाले ३४ लाखभन्दा बढी राजस्व रकम गायब गरेको सिरहामा खुलासा भएको छ ।

 

सिरहा जिल्लाको विष्णुपुर गाउँपालिकाको राजस्व शाखामा कार्यरत नायब सुब्बा महेन्द्रप्रसाद यादवले ३४ लाख बढी राजस्व गायब गरेका हुन् ।

उनले गत आर्थिक वर्ष ०७७।७८ मा सङ्कलन भएको ५५ लाख २७ हजार ७७ रुपियाँमध्ये ३४ लाख २३ हजार ७९० रुपियाँ बैङ्क दाखिला नगरेको पाइएको कार्यालयले जनाएको छ ।

सो रकम बैङ्क दाखिला नगरेको कुरा महालेखा परीक्षणको प्रतिवेदनबाट खुलेपछि गाउँपालिकाले रकम दाखिला गर्न पटकपटक मौखिक ताकेता गर्दै आएको छ । तर, मौखिक ताकेताबाट पनि नासु यादवले रकम दाखिला गर्न आलटाल गर्दै आएका छन् ।

पछि प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले गत चैत १५ गते तत्काल रकम जम्मा गर्न निर्देशनसहितको पत्र नै नासु यादवलाई जिम्मा लगाए।

‘नासु यादवले रकम दाखिला नगरी गायब गरेको कुरा आफूले थाहा पाउने बित्तिकै जम्मा गर्न निर्देशन दिएको हुँ। तर, उहाँले आलटाल गरेपछि मैले उहाँको नाममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम २५ प्रतिशत जरिवानासहित रकम बुझाउन पत्र काटेको छु’, प्रशासकी अधिकृत यादवले भने ‘अब उहाँले जरिवानासहित गाउँपालिकालाई ४२ लाख ७९ हजार ३३७ रुपियाँ बैङ्क दाखिला गर्नुपर्नेछ।’

वर्तमान प्रशासकीय प्रमुख दीपकुमार यादवले रकम दाखिला गर्न नासु यादवलाई पत्राचार गरेपछि मात्रै यो विषयले चर्चा पाएको हो।

श्रोतका अनुसार उक्त रकम गायब हुनुमा नासु यादव, गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव र तत्कालीन प्रशासकीय अधिकृत रविन्द्र महतबीच मिलेमतो रहेको आरोप छ।

नासु यादवले आफूसँग गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले रकम मागेपछि ‘पछि मिलाउने गरी’ उक्त रकम अध्यक्ष यादवलाई दिएको बताउदै आउनुभएको छ। ‘मैलै त्यसरी गर्नु हुँदैन थियो। तर, अध्यक्षले काम छ, पछि मिलाउँला भनेर दबाब दिएपछि मैले उहाँलाई रकम दिए। तर, अहिले म फसे’, आरोपित नासु यादवले भने ।

विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले उक्त रकम तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महत र नासु यादवले एकापसको मिलोमतोमा गायब गरी अहिले आफूलाई फसाउन आरोप लगाएको बताए ।

त्यो रकम फर्काउन आफूले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महतलाई पटक पटक दबाब दिएपनि नमानेको गाउँपालिका अध्यक्ष यादवको गुनासो छ ।

प्रतिक्रिया





Top