एमालेबाट जनकपुरधामका मेयर पदका लागि शिवशंकर साहकाे सिफारिस

न्यूज डेस्क     २०७८ चैत्र २७, आईतवार २२:०२ बजे मा प्रकासित


जनकपुरधाम। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएपछि दलीयदेखि निर्दलीयरुपमा उम्मेदवारी घोषणा हुन थालेको छ ।

सत्तारुढ गठबन्धन दल आन्तरिक तयारीमा रहेकै बेला नेकपा एमालेले भने उम्मेदवारी छनोट प्रक्रियालाई अघि बढाएको हो ।

एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ ।

आइतबार नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहको नाम मेयर पदका लागि छनोट गरिएको एमाले जनकपुरधाम नगर समितिका सचिव राजुकुमार साहले जानकारी दिए ।

नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको बताए ।

यस्तै जनकपुरधाम वडा नम्बर १० को वडाअध्यक्षको पदमा सुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सर्वसम्मतरुपमा छनोट गरिएको श्यामकिशोर मण्डलले बताए ।

यस्तै शनिबार बलराम महतोले स्वतन्त्ररुपमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । मेयरमै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले समेत तयारी थालेका छन् ।

यता नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धनले भने अहिलेसम्म पनि टुंगो लगाउन सकेको छैन ।

 

प्रतिक्रिया





Top