- जनकपुरधाम । धनुषा जिल्लाकाे लक्ष्मीनियाँ गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा शम्भु साहसहित ३ जनाको नाम सिफारिस भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट युवा नेता शम्भु साहसहित तीन जनाको दाबी परेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य समेत रहेका साहसहित अन्य दुईजनाको नाम सिफारिस गरिएको हो ।
सोमबार बसेको नेकपा एमालेको गाउँपालिका कमिटी बैठकमा साहसहित दिनेश यादव र अजय यादवले अध्यक्षको उम्मेदवारी दाबी गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । गाउँपालिकामा तीनैजनाले आ–आफ्नो दाबी पेश गरेपछि जिल्ला पार्टीबाट तीनै जनाको नाम सिफारिस गरी पठाइएको हो ।
साहले विगतमा पार्टीमाथि चौतर्फी घेराबन्दी भएको बेलमा पार्टी बचाउने अभियानमा लागेको कारण नेता कार्यकर्ताको माया आफूप्रति रहेकाले आफ्नो पक्षमा सहमति भए निर्वाचनमा विजयी हुने दाबी गरे । पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि आफूलाई स्वीकार्य भएको उनले बताए । साह एमालेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि वरिष्ठ उपाध्यक्ष शंकर पोखरेलसम्म राम्रो पकड भएको नेता मानिन्छ ।
यसैगरी उपाध्यक्षको उम्मेदवारीको लागि भोलि यादव, रीना साह र कौशल्या यादवको नाम सिफारिस भएको छ । सिफारिस गरिएकामध्ये भोलि यादव गएको स्थानीय तह निर्वाचनमा झिनो मतले पराजित भएका थिए ।
प्रतिक्रिया