धनुषा : छुरा प्रहार घटना ७ महिनापछि एक जनाको मृत्यु, गाउँ नै शोकमा

न्यूज डेस्क     २०७८ चैत्र ३०, बुधबार १९:३८ बजे मा प्रकासित


 

जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ५, बहुअर्वा करिब ७ महिनापछि मृत्यु भएको हो । ३९ वर्षीय सरोजकुमार मण्डलको मृत्युृ भएको हो ।

गाउँ नै शोकमग्न हुनुको कारण छ, गाउँका एक होनहार युवामाथि छुरा प्रहारका कारण उनको असामयिक निधन । घटना केही महिना पूरानो भएपनि समस्या भने अहिले आएर विकराल रुप लिएको छ ।

मृत्युलाई कुनैपनि परिस्थितिमा सहज मानिदैन । मृत्यु असहज हुन्छ ! यद्दपी आफ्नो आयुका कारण कसैको मृत्यु भएमा पीडा थोरै कम अनुभूति हुन्छ । यो मानवीय स्वभाव हो ।

तथापि अराजकताको अवस्था सिर्जना गरेर कसैको हत्या गरेका आरोपीलाई नै सरोकारवाला निकायले माफि दियो भने त्यो मृत्यु परिवार र समाजका लागि अत्यधिक पीड़ादायी हुन्छ ।

करिव ७ महिना अघि बहुअर्वा गाउँमा गणेश पूजाको भव्य मेला आयोजना गरिएको थियो । मेला हेर्न पुगेको भीडमा स्थानीय रामनन्दन मण्डल केवटका छोरा सरोजकुमार मण्डल पनि थिए ।

मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सबैले सोही कार्यक्रम हेरिरहेका थिए । अचानक दुई समूहबिच विवाद भयो ।सरोजले केही नसोचि हतपत झगडा छोडाउन पुगे । तर, सोही क्रममा नसोचेको घटना घट्यो । अचानक सरोजको पेटमा छुरा प्रहार गरियो ।

 

२०७८ साल भदौ २६ गते राति करिव २ बजे यस्तो अपराधिक घटना घट्यो । मेलामा नाच हेरिरहेका बेला सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबिच आपसी विवाद भयो । सोही विवादमा प्रतिवादी मनिष र राजिवले अमितको टाउकोमाथि हतियार प्रहार गर्यो । अमितको बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै उनीहरुमाथि पनि छुरा प्रहार गरियो । बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरि आन्तरिक अंगभंग गरियो । सरोजको सोही बेलादेखि काठमाडांैस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।

धनौजी गाउँपालिका वडा नम्बर–५ बहुर्अवा निवासी रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर–४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो ।

 

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपीटमा परिणत गरि प्रतिबादीलाई मुक्त गर्ने फैसला सुनाइयो ।

फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भिर घाइते सरोज मण्डलको उपचार खर्चवापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउने उल्लेख छ ।

 

गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराभ भट्टराइको आदेश भएको; ईजलाश अधिकृत समिता श्रेष्ठमार्फत प्रमाणिक फैसलापत्रमा भनिएको छ ।

वडा नम्बर–५ का वडाध्यक्ष कमलनारायण पंकजले भने,‘सरोजको उपचारको क्रममा पेटमा गम्भिर घाउ भएको थियो । उनको ‘ल्याप्राटोमी’ प्रविधि’ बाट शल्यक्रियाको क्रम जारी थियो । त्यस्तो अवस्थामा न्यायाधीश भट्टराईले कुन विवेकको प्रयोग गरी हत्या अभियोगमा कारागारमा रहेका व्यक्तिलाई कुटपीट मुद्दामे परिणत गरि रिहा गरियो?’

अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गईसके । यता, घाइते सरोजको सोमबार राति उपचारकै क्रममा असामयिक निधन भयो । सरोजको परिवारजन सहित समग्र गाउँ नै अहिले शोकमग्न अवस्थामा छन् । सबैले अहिले न्यायालयबाट नै अन्याय गरिएको अनुभूति गरिरहेका छन् ।

सरोजको परिवारमा उनका आमा, बाबु, पत्नी चान्दनी मण्डल, ९ वर्षीय छोरा भूमि मण्डल र ५ वर्षीया छोरी भूमिका मण्डल छन् ।

न्यायकर्ता न्यायाधीश शंकाको घेरामा छन् भने पीडि़त पक्ष सही न्यायको खोजीमा भौतारिरहेका छन् । न्यायिक अधिकार क्षेत्रका व्यक्तिद्वारा नै अहिले सरोजको परिवारमाथि दुःखको पहाड खसाइएको छ ।

 

प्रतिक्रिया





Top