मधेस प्रदेश : स्थानीय निर्वाचनका लागि नेकपा एमालेले विभिन्न समितिहरु छनोट 

मधेशपाटी अनलाइन     २०७९ बैशाख २, शुक्रबार ०६:१९ बजे मा प्रकासित


जनकपुरधाम । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मधेस प्रदेशमा विभिन्न समितिहरु गठन गरेको छ ।

मधेस प्रदेशका विभिन्न जिल्ला हेर्ने गरि एमालेले प्रदेश समिति बैठकबाट कार्य विभाजन गरेको हो ।

निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन र व्यवस्थित बनाउन मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, प्रदेश सह–इन्चार्जहरु प्रभु साहलाई सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठलाई सिरहा, सुमनराज प्याकुरेललाई सप्तरी, पुरुषोत्तम पौडेल, अच्युतम मैनाली र ज्वाला कुमारी साहलाई बारा जिल्लाको जिम्मेवारी दिइएको भने प्रदेश अध्यक्ष रामऔतार यादवलाई पर्सा जिल्लाको जिम्मेवारी बाँडफाँड गरि कार्यविभाजन गरिएको छ ।

बैठकबाट प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुलाई आ–आफ्नो पालिकामा खट्ने गरि जिम्मेवारी तोकिएको नेकपा एमाले मधेस प्रदेश समितिले जनाएको छ । बैठकले निर्वाचन परिचालन कमिटी, मधेस प्रदेश स्थानिय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ ।

विशेष कमिटीको संयोजकमा रघुवीर महासेठ, सह–संयोजकमा प्रभु साह र सदस्य सचिवमा रामऔतार यादवलाई चयन गरिएको छ ।त्यस्तै प्रदेश निर्वाचन परिचालन कमिटीको संयोजकमा पनि रघुवीर महासेठ, सह–संयोजकमा प्रभु साह र सदस्य सचिवमा रामऔतार यादवलाई चयन गरिएको छ ।

कमिटीको सदस्यहरुमा प्रदेश सह–इन्चार्जहरु, पोलिटब्यूरो सदस्यहरु, केन्द्रिय कमिटी सदस्यहरु, प्रदेशका सांसदहरु, पुर्व मन्त्रीहरु, संविधान सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, पूर्व सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला समन्वय समितिका संयोजकहरु, पूर्व जि.वि.स सभापति तथा उपसभापतिहरु, पालिकाको मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरुसमेत रहनेगरि ५०१ सदस्यीय कमिटी गठन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।

त्यसैगरी जिल्ला निर्वाचन परिचालन विशेष कमिटी समेत गठन गरिएको छ । सो कमिटीको संयोजक पद रिक्त राखिएको छ ।

यादवले प्रदेशबाट तोकिएको नेतालाई संयोजकको जिम्मेवारी दिइने जानकारी दिए । सदस्यहरुमा पोलिटव्यूरो सदस्य, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी र सदस्य सचिवमा जिल्ला कमिटीका अध्यक्ष रहने उनले बताए ।

प्रतिक्रिया





Top