जनकपुरधाम । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ । साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ । दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरु आएको बताएको छ ।
आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटना पनि धेरै देखिएको दूतावासको भनाइ छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेन्टको भूमिकालाई गैरकानुनी मानेको भए पनि पछिल्लो समय समूह नै बनाएर युवासँग करोडौं असुलेको पाइएको छ । साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेन्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्यानपावर कम्पनीमार्फत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । यसैगरी साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन र कम्पनीको नाम, काम र स्थान बुझेर जान अनुरोध गरिएको छ ।
साउदी अरब पुगेर काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायतका कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्कन सहज नहुने जनाउँदै जानुअघि नै तयारी बस्नुपर्नेमा श्रमिकलाई सचेत गराइएको छ । विदेशी श्रमिक ल्याउन साउदी रोजगारदाताले ठूलो धनराशि खर्च गर्ने भएकाले रोजगारदाताले करार सम्झौता नसकी स्वदेश फर्कन अनुमति नदिने जनाइएको छ ।
ठगीका घटना र कम पारिश्रमिकमा सम्झौता गराउने क्रम बढेपछि नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता नगर्न अनुरोध गरिएको छ । नेपाल सरकारले साउदी अरबमा जाने नेपाली कामदारका विभिन्न पदहरूका लागि पद अनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधाबापत साउदी रियाल ३ सय तोकिएको छ ।
ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास गरेर धेरै नेपाली साउदी अरब पुगेर ठगिने गरेका छन् ।
सम्झौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा धेरै नेपाली पर्ने गरेको दूतावासको भनाइ छ । साउदी अरबमा अदक्ष कामदारको रूपमा जाँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । कमजोर स्वास्थ्य अवस्था, बिरामी तथा औषधी सेवन गरिरहेका नेपाली युवा साउदी अरब गएर समस्यामा परेको पाइएको छ ।
अत्यधिक गर्मी हुने साउदी अरबमा खुला ठाउँमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषि फार्म-मजरा तथा निर्माण क्षेत्रमा आउने कामदारले सचेत हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ । यस प्रकारका काममा विचौलिया एवं केही म्यानपावर कम्पनीहरूले गलत जानकारी दिई श्रमिकलाई झुक्याएर ल्याउने गरेको पाइएको दूतावासले जनाएको छ । सम्झौतापत्र राम्ररी पढेर मात्र सहीछाप गर्न पनि अनुरोध गरिएको छ ।
प्रतिक्रिया