एमालेले कांग्रेस र माओवादीसँग पनि तालमेलको ढोका खोल्यो

न्यूज डेस्क     २०७९ बैशाख ९, शुक्रबार ०९:१९ बजे मा प्रकासित


काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीसँग पनि तालमेलको ढोका खुला गरेको छ । लोसपा, राप्रपा नेपाल र परिवार दलसँग तालमेलमा जाने निर्णय गरिसकेको एमालेले स्थानीय प्रस्ताव र आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेस र माओवादीसँग समेत तालमेल गर्न सक्ने गरी ढोका खोलेको हो ।

‘महानगर र उपमहानगरका कतिपय ठाउँमा हामी सकारात्मक पक्ष र पार्टीसँग सहकार्य गर्छौं । १२ वैशाखसम्म कतिपय ठाउँमा राप्रपा, लोसपा, परिवार दलबाहेक माओवादी केन्द्र र कांग्रेससँग पनि स्थानीय तहमा गठबन्धन हुन सक्छ,’ बिहीबार केन्द्रीय सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ।

महानगर र उपमहानगरका उम्मेदवार १० गते टुंग्याउने एमालेको केन्द्रीय नेतृत्वले ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार छनोटका लागि छलफल सुरु गरेको छ । प्रदेश कमिटीहरूले पठाएको उम्मेदवारको नामावलीमा केन्द्रित रहेर एमालेले बिहीबारबाट छलफल अगाडि बढाएको हो ।

केन्द्रीय सचिवालय बैठकले शनिबार साँझसम्म सबै महानगर र उपमहानगरका लागि उम्मेदवार छनोट टुंग्याउने निर्णय गरेको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयन छ ।

६ महानगरमध्ये वीरगन्ज, ललितपुर र भरतपुरमा एमालेका स्थानीय कमिटीले मेयरका उम्मेदवार सर्वसम्मत चयन गरिसकेका छन् । वीरगन्जमा मेयर लिएर उपमेयर लोकतान्त्रिक समाजवादीलाई दिने सहमति छ । काठमाडौं, पोखरा र विराटनगरमा भने उम्मेदवारका आकांक्षीमध्येबाट मेयर र उपमेयरका उम्मेदवार छनोट हुनेछन् ।

‘६ महानगर र ११ उपमहानगरको उम्मेदवारहरूको बारेमा सातओटै प्रदेशबाट आएको सिफारिसका आधारमा छलफल भयो, तर कुनै निर्णय भइसकेको छैन, नामहरूका बारेमा महासचिवले जानकारी गराउनुभएको छ, शनिबार बस्ने बैठकबाट उम्मेदवारहरूको अन्तिम निर्णय हुनेछ,’ बैठकपछि उपमहासचिव गुरुङले भने ।

गण्डकीका प्रदेश सांसदलाई टिकट नदिने
एमालेले गण्डकी प्रदेश सभामा सांसद रहेकाहरूलाई आसन्न निर्वाचनमा टिकट नदिने भएको छ । पोखरा महानगरको मेयरमा प्रदेश सांसद कृष्ण थापा र राजीव पहारी उम्मेदवारका आकांक्षी छन् ।

गण्डकी प्रदेशमा पार्टी झिनो मतले मात्र प्रमुख प्रतिपक्षमा रहेको र प्रदेश सांसदहरूलाई राजीनामा गराएर मेयरमा उठाउँदा प्रदेश सभाको शक्तिसन्तुलन खलबलिन सक्ने भएकाले त्यस्तो निर्णय लिइएको पनि गुरुङले बताए । गण्डकी प्रदेशमा एमालेका २७ सांसद छन् । दुईजना सांसद थपिँदा कुनै पनि वेला सरकार बनाउन सक्ने एमालेको विश्लेषण छ ।

यस्तै, सचिवालय बैठकले शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ । कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गर्ने, पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्ने, १७ कम्युनिस्ट योद्धाहरूको सम्मान गर्ने कार्यतालिका तय भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया





Top