विपन्न परिवारका लागि आएको १० वटा सिलाई मेसिन बेचेर पैसा खाए पूर्व वडाध्यक्ष

मधेशपाटी अनलाइन     २०७९ असार २, बिहीबार ११:४२ बजे मा प्रकासित



 

जनकपुर।

धनुषाको जनकनन्दिनी गाउँपालिकाका एक पूर्व वडाध्यक्षले विपन्न परिवारको महिलाहरुको लागि आएको १० वटा सिलाई मेसिन कब्जा गरी राखेको आरोप लगाइएको छ ।

कोरोना कालभन्दा पहिले नै एक गैर सरकारी सँस्थाको समन्वयमा गाउँपालिकाको कार्यालय मार्फत खरिद गरिएको १० वटा सिलाई मेसिन वडा नम्बर १ का पूर्व वडाध्यक्ष धर्मेन्द्र कुमार गोईतले आफ्नो कब्जामा लिएको आरोप स्थानीयहरुले लगाएका छन् ।

स्थानीय विपन्न महिलाहरुलाई स्वरोजगार बनाउने गरी सीपमूलक कार्यक्रम अन्तर्गत उनीहरुको लागि किनिएको सिलाई मेसिन पूर्व वडाध्यक्ष गोईतले बेच्ने सुरसार गरेको बुझिएको छ ।

जनकनन्दिनी गाउँपालिकाले प्रत्येक वडामा १०÷१० वटा सिलाई मेसिन प्रदान गरी वडाकी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजना ल्याएकोमा अन्य वडाहरुले कार्यक्रम सम्पन्न गरेपनि वडा न. १ मा भने मेसिन पचाउने लोभले कार्यक्रम गरिएनन् ।

कोरोना कालभन्दा अघि नै किनिएको सो मेसिनहरुको दुई बर्षभन्दा अधिक भएपनि मेसिन नदिएपछि पूर्व वडाध्यक्ष गोईतले मेसिन खाएको आरोप लगाइएको छ ।

सो सन्दर्भमा गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले विपन्नको लागि आएको मेसिनहरु गाउँपालिकाले फिर्ता लिने बताए । उनले सो सार्वजनिक सम्पतिमा कसैको व्यक्तिगत हक नरहेको बताउँदै पूर्व वडाध्यक्षले सो मेसिन एक साताभित्र गाउँपालिकाका जिम्मा लगाउनुपर्ने बताए ।

नव निर्वाचित वडाध्यक्ष सँतोष गोईतले भने पूर्व वडाध्यक्षले राखेको सो मेसिन वडा कार्यालयलाई जिम्मा लगाए यथाशिघ्र कार्यक्रम सँचालन गरिने बताए । उनले मेसिन वडाकार्यालयलाई दिएपनि जरुरतमन्द महिलाहरुलाई प्रदान गरिने बताए ।

यस सन्दर्भमा पूर्व वडाध्यक्ष गोईतले आफूसँग १० वटा सिलाई मेसिन रहेको स्वीकार गरे । उनले कोरोनाको कारण कार्यक्रम गर्न नसकेको बताउँदै अब केही दिनमै सो मेसिनहरु वितरण गर्ने पनि दाबी गरे ।

कोरोना गएको एक बर्ष वितिसक्दा पनि अहिलेसम्म कार्यक्रम सँचालन हुन नसक्नु शँकास्पद रहेको जिज्ञासामा उनले तालिम लिने महिलाहरुको सूची तयार भईसकेको र केहीदिनभित्रै कार्यक्रम सँचालन गरिने बताए ।

प्रतिक्रिया





Top