नेपालमा रहेका मदरसामा भारतविरोधी आतंकवादी लुकेको गम्भीर आरोप

मधेशपाटी अनलाइन     २०७९ असार ६, सोमबार ०८:१० बजे मा प्रकासित


काठमाडौँ । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतंकवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल–भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ ९जेडब्लुजी० को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।

नेपाल–भारत सीमा व्यवस्थापनको १२औं बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारतविरोधी आतंकवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो।

वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तीनजना सहसचिव, अध्यागमन विभागका महानिर्देशक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, गृह मन्त्रालयका स्थानीय प्रशासन र सीमा तथा अध्यागमन शाखाका दुई उपसचिव सहभागी थिए।

करिब ६ वर्षपछि भएको उक्त बैठकमा भारतीय पक्षले नेपालका मदरसाभित्रबाट हुने गरेका आतंकवादी गतिविधि रोक्न आग्रह गरेको थियो। नेपाली पक्षले विविध विषय उठाए पनि भारतीय पक्षले कुरा गर्न नचाहेर बैठक टुंग्याइएको थियो। खासगरी एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने, हतियारको अवैध ओसारपसार, आतंकवादी गतिविधि, लागुऔषध, जाली नोटको कारोबार, सुन तस्करी, भन्सार छलीलगायत साझा समस्या समाधानमा नेपालले कुरा राख्दा भारतीय पक्षले नेपालका मदरसामा पाकिस्तानी र अफगानी आतंकवादीको घुसपैठ भएको भन्दै आपत्ति जनाएको थियो। नेपाली पक्षले आतंकवादीको कुनै देश र धर्म नहुने भएकाले यस्ता गतिविधि रोक्न सरकार सक्षम रहेको बताएको थियो। ‘नेपालमा रहेका सबै मदरसा विद्यालयका रूपमा दर्ता भइसकेका छन् र नियमित अनुगमन गरिरहेका छौं, छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमिबाट कुनै पनि गतिविधि हुन दिँदैनौ भनेर हामीले भन्यौं,’ बैठकमा सहभागी एक अधिकारीले भने।

वार्तामा नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा गर्ने दुर्व्यवहार रोक्न भारत सरकार सकारात्मक बनेको छ। ‘दुई देशलाई आघात पर्नेगरी कुनै पनि कार्य नगर्ने र सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न दुवै पक्ष सहमत भएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता एवं वार्तामा नेपाली पक्षको नेतृत्व गरेका सहसचिव पोखरेलले बताए। खासगरी सीमा सुरक्षा, सीमा व्यवस्थापन र सीमापार अपराध रोकथाम–नियन्त्रण एवं सीमाबाट हुने घुसपैठलाई केन्द्रमा राखेर बैठकमा छलफल हुनुपर्नेमा भारतीय पक्षले नेपालका मदरसाबाट आतंकवादी गतिविधि हुने गरेको भन्दै यसै विषयलाई प्राथमिकता साथ उठाएको थियो।

नेपाली पक्षले बैठकमा बर्खामा सीमाक्षेत्रमा हुने गरेको डुबान–कटान र त्यसबाट दुवै देशलाई पर्ने असरका विषयमा पनि कुरा उठाएको थियो। सीमा क्षेत्रबाट हुने चोरीतस्करीजस्ता गतिविधि रोक्न पनि नेपाली पक्षले जोड दिएको थियो।

‘हामीले राखेका विषयमा भारतीय पक्षले ध्यान दिँदैन। उसले जहिले पनि आफ्नै कुरा गर्छ। हामीले डुबानको कुरा उठायौं, सुन तस्करीको कुरा उठायौं, सीमा सुरक्षाका लागि एकीकृत सुरक्षाको कुरा उठायौं। तर भारतीय पक्षले मदरसामा आतंकवादी गतिविधि हुन्छ भनेर आरोप लगायो,’ बैठकमा सहभागी ती नेपाली अधिकारीले भने।

भातीय पक्षले यो विषयलाई दुवै देशको राष्ट्रिय सुरक्षामा लगेर जोडेको थियो। भारतका कारण नेपालमा हुने समस्याबारे कुरा उठाउँदा उसले अर्को विषय झिकेर बखेडा निकाल्ने गरेको वार्तामा सहभागी नेपाली टोलीका सदस्यको गुनासो छ। यसअघिको बैठकमा भारतले नेपालबाट नक्कली नोटको कारोबार हुने गरेको कुरा उठाएर अन्य विषयलाई ओझेलमा पारेको थियो।

यसपटक नेपालले नेपालमा भारतबाट अवैध हतियार भित्रिँदा शान्ति सुरक्षामा असर परेको, सीमा क्षेत्रमा भारतले गरेको तटबन्धका कारण नेपाली भूमि डुबानमा परेको, दसगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी घरटहरा निर्माण गर्दा नेपाललाई असर परेको, भारतीय जवानले तुइन काटिदिँदा महाकाली नदीमा खसेर दार्चुलाका जयसिंह धामीको मृत्यु भएको जस्ता विषयमा छलफलका लागि प्रस्ताव गरे पनि भारतीय पक्ष तयार नभएको स्रोतको दाबी छ।

नेपालले सीमावर्ती १५ जिल्लाका ६ सय ६८ स्थानमा भारतीय नागरिकले भोगचलन गर्दै आएको नेपाली भूमिको विषयमा पनि कुरा उठाउने तयारी गरेको थियो। तर यो विषयलाई प्रस्ताव गर्न नपाउँदै बैठक समापन गरियो। ‘अघिल्लो दिन नेपालले उठाएका केही विषयलाई सुनेको भारतीय पक्षले अर्को दिन आफ्ना मात्र धारणा राखेर बैठक टुंग्याएको थियो। हामीले जे अजेन्डा राखेका थियौं, त्योभन्दा भिन्न विषय भारतले राख्यो। हामीले केही समय प्रतिरक्षा गर्‍यो,’ बैठकमा सहभागी नेपाली पक्षका एक सदस्यले भने।

भारतले यसअघि पनि नेपाली मदरसामा पाकिस्तानी खुफिया संस्था आइएसआई तथा साउदी अरेबियाले लगानी गरिरहेको र ती मदरसामार्फत भारतविरोधी गतिविधि भइहेको आरोप लगाएको थियो। भारतीय पक्षले २०१८ देखि २०२१ का बीचमा नेपालमा मदरसाको संख्या बढेर ६४५ पुगेको र ती सबैमा पाकिस्तानी खुफिया संस्थाको लगानी रहेको जनाएको थियो। यो समाचार नागरिक दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया





Top