जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लाका एक विद्यालयमा अभिभावक भेला गराएका प्रधानाध्यापकमाथि गैर अभिभावकको एक समुहले दुव्र्यवहार गर्दै कालोमोसो गरेकाे थियो । उनले जिल्ला प्रशासन कार्यालय धनुषामा आरोपितलाई कारवाही गर्न माग गर्दै जाहेरी दिएका छन् ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई गैर अभिभावकको एक समूहले कालोमोसो गरी दुव्र्यवहार समेत गरेका थिए । अहिले उनी न्यायका लागि अघि बढेका छन् ।
गत शनिबार आयोजित अभिभावक भेलामा गैर अभिभावकहरूले होहल्ला गर्दै प्रधानाध्यापक महरामाथि कालोमोसो गरेका थिए । आफूमाथि कालोमोसोका साथै दुव्र्यवहार गरेको भन्दै प्रधानाध्यापक महराले स्थानीय सुजीत यादव र रामनाथ यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा जाहेरी दिएका हुन् ।
घटना भएको अर्कोदिन आइतबार अभिभावकहरु सहितको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर न्यायका लागि दुबै जना बिरुद्ध जाहेरी दिएको प्रधानाध्यापक महराले बताए । औरही गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रह्मदेव यादव निकटका व्यक्ति रामनाथ यादव र सुजित यादवले योजनाबद्धरुपमा आफूलाई कालोमोसो गरेको महराको आरोप छ ।
रामजानकी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनः गठनको विषयलाई लिएर यादवले प्रधानाध्यापक महरामाथि प्रतिशोध साँध्ने गरी अभद्र व्यवहार गरेको विद्यालयका कार्यालय सहयोगी जीतनारायण यादवले बताए ।
विवादकै क्रममा प्रधानाध्यापक महरालाई बचाउन खोज्दा आफू सहित श्रीमतीमाथि समेत हातपात गरेको कार्यालय सहयोगी जितनारायणले आरोप लगाए । कार्यालय सहयोगी जितनारायणले भने, ‘म र मेरी श्रीमतीमाथि समेत उनीहरुले हातपात गरे, न्यायका लागि आफू समेत जाहेरी दिने तयारीमा छु ।’
गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रह्मदेव यादवले आरोपित सुजित यादवलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रधानाध्यापक महरालाई दवाव दिँदै आएको थियो । उनले अभिभावकको भेलाबाट लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचित भएर बन्नुपर्ने अडान लिएपछि उनीमाथि दुर्व्यवहारसहित कालोमोसो गरिएको उनको दावी छ ।
मधेश प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मरम्मत सम्भारका लागि प्राप्त ३० लाख रुपैयाँ र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँलाई सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार सहितका लागि सरसल्लाह लिनका लागि शनिबारको दिन आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर गैर अभिभावक रामनाथ यादव र सुजित यादवले हो–हल्लासहित दुव्र्यवहार गर्दै कालोमोसो दल्ने देखि कुटपिटसम्ममा उत्रेको प्रधानाध्यापक महराले बताए ।
यता विभिन्न शिक्षक संगठन तथा दलित अधिकारकर्मीहरूले समेत शिक्षक तथा दलितमाथि भएको दुर्व्यवहारसहितको घटनाको घोर भत्र्सना गरेको छ । भने कारवाहीका लागि माग गरेका छन् ।








प्रतिक्रिया