जनकपुरधाम । धनुषा र सिरहा हुलाकी सडक खण्ड अन्तर्गत जोडने कमला पुल भासिएको आज एक वर्ष पूरा भएको छ । २०७८ असार १७ मा कमला पुल भासिएको थियो । सिरहा नगरपालिका–६ बसपिट्टातर्फबाट कमला नदीमा निर्माणाधीन पुलको पहिलो पाया भासिएपछि दुई वटा स्ल्याब भूईमा खसेको थियो । त्यससँगै कमला पुल भएर सिरहा–धनुषा हुलाकी सडक सञ्जाल जोड्ने र सहज यातायताले जनजीवन परिवर्तन हुने नागरिकको अपेक्षा पूरा हुन सकेन् ।
सिरहा–धनुषाको सिमा जोड्ने कमला नदिमा ४ सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउने ठेक्का पप्पु लुम्बिनी बिल्र्डस जेभी कन्स्ट्रक्सनलाई २०६८ जेठ ३१ दिईएको थियो । २४ करोड ९१ लाख रुपैयाँ लागतमा कमला नदीको पुल निर्माणको ठेक्का दिएपनि पटक पटक म्याद थप गर्दा पुल निर्माण नभएपछि पप्पु कन्स्ट्रकशनलाई हटाएर २०७६ असोज १ मा लुम्बिनी बिल्र्डस कन्स्ट्रक्सनलाई हुलाकी सडक निर्देशनालय जनकपुरधामले दिएको थियो ।
लुम्बिनी बिल्र्डसले काम गर्दै गर्दा समान्य वहावमै गत वर्ष एउटा पायासँगै दुई वटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मीटरको तल झर्यो । त्यसको करिब चार महिना पछि २०७८ कार्तिक ३ मा धनुषा जिल्लापट्टीवाट तेस्रो पाया २ मीटर भासियो । यससँगै कमला पुल पूरा हुने र सहज रुपमा आउजाउ गर्ने दुवै तर्फका स्थानीयका सपना चकनाचूर भएको छ ।
एक वर्ष अघि नै पुल भासिएपछि सरकारी रवैया र निर्माण कम्पनीको लापरबाहीले गर्दा निर्माणको काम पुनः अगाडी बढको छैन् । स्थानीय स्तरबाट दबाब सृजना गरिएपनि विल्ड एण्ड डिजाईनको आधारमा ठेक्का लिएको लुम्बिनी बिल्र्डसले भासिएको पाया र स्ल्यावलाई भाँसिएको स्थानबाट भत्काएर हटाएको छ । त्यसपछि धनुषापट्टी भासिएको स्ल्याब र पायाको केही गरिएको छैन् ।
एक वर्षमा कमला पुललाई पुनः निर्माण गर्ने कार्यको कुनै प्रगती नभएको स्थानीय युवा नेता दिनेश यादवले बताएका छन् । ‘पुल पुनः निर्माण गर्न पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनी र निर्देशनालय मौनता साधेको छ,’ यादवले भने, ‘यसले हाम्रो दैनिक जिवनयापनलाई नै प्रभावित बनाएको छ ।’
यता हुलाकी सडक निर्देशनालय जनकपुरधामका इन्जिनियर जयनाथ यादवले निर्माण कम्पनीले आफैं डिजाईन र निर्माण गर्ने गरी सरकारसँग सम्झौता गरेकोले निर्माण कम्पनीकै जिम्मेवारी भएको बताएका छन् । निर्माण कम्पनीले पुल निर्माण गर्ने पत्र पठाएको भन्दै इन्जिनियर यादवले वर्षात सकिएपछि पुल निर्माण काम अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया