जनकपुरधाम । धनुषा जिल्लाको एक विद्यालयमा राजीनामा दिएकी शिक्षिकालाई राजनीतिक दबाबमा पुन: हाजिर गराइएपछि स्थानीयहरु आन्दोलन उत्रिएका छन ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ स्थित माध्यमिक विद्यालय बरमझियाकी शिक्षिका रेखा यादवले स्थानीय चुनावमा माओवादीबाट उपमेयर लड्न राजीनामा दिएकी थिइन् । उनको राजीनमा पनि स्वीकृत भयो । तर, श्रीविन्दु मास्केलाई पार्टीले टिकट दियो ।
रेखा विद्यालयको प्रावि राहत दरबन्दीमा कार्यरत थिइन् । राहत शिक्षकको नियुक्ति र राजीनामा स्वीकृत गर्ने अधिकार विद्यालयकै रहेको छ ।

त्यसपछि यादव पुन: हाजिर भएर पढाउन थालेपछि अभिभावकहरूले विरोध गरेका हुन् । उनीहरूले जागिर छाडिसकेको मान्छेलाई राजनीतिक पहुँचको भरमा फेरि हाजिर गराइएको भन्दै प्रधानाध्यापक राजदेव यादवको विरोध गरेका छन् । साथै कानूनी उपचार खोज्ने चेतावनीसमेत दिएका हुन ।
विद्यालयमा प्रदर्शन गर्दै अभिभावकहरूले राजीनामा दिइसकेको शिक्षकलाई हाजिर गराउन मिल्दैन, प्रधानाध्यापक राजीनामा देऊ, विद्यालयको हरहिसाव सार्वजनिक गर, विद्यालयमा राजनीति चल्दैन जस्ता नारा लगाएका छन् ।
राजीनामा स्वीकृत भइसकेको अवस्थामा कानून मिचेर पुनः त्यही महिला शिक्षकलाई हाजिर गराएपछि प्रधानाध्यापकविरुद्ध आन्दोलन थालिएको अभिभावक विनोद महराले बताए ।
विद्यालयका प्रधानाध्यापक यादवमाथि आर्थिक अनियमितताको आरोपसमेत लागेको छ । अहिले विद्यालयमा विद्युतको लाइन काटिएको छ । ‘महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले विद्यालयको लाइन काटेको छ,’ एक अभिभावकले भने, ‘तर प्रधानाध्यापक यादव विद्युत महसुलका लागि छुट्याएको बजेट सबै खर्च गरिसकेका छन् ।’
उपमेयरमा माओवादीले टिकट नदिएको झोँकमा रेखाले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाएको र काँग्रेसकै जितनारायण यादव मेयर र तुलसा पाण्डे पटेल उपमेयरमा निर्वाचित भएकाले उनीहरूले नै रेखालाई विद्यालयमा हाजिर गराएको एक स्रोतले बताएकाे छ ।








प्रतिक्रिया