काठमाडौं । गृह मन्त्रालयले असार २५ गते साँझ ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गर्यो ।
वरिष्ठता र कार्यसम्पादनका आधारमा गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह सदस्य सचिव रहेको बढुवा समितिले ३२ जनालाई एसएसपी बढुवा गर्न सिफारिस गरेको हो।
पहिलो लटका बढुवा हुन छुटेका डिल्लीराज बिस्ट र अन्य ३१ जना एउटै लटका अधिकृतहरू एसएसपीमा बढुवा सिफारिस भएका हुन्। एकै लटका ३३ जनामध्य दुई जनाको अनुशासन र विभागीय कारबाही भएकाले बढुवा सिफारिस नगरिएको हो।
एउटै लटका विमल बस्नेत र रामेश्वरप्रसाद यादवको विभागीय र अनुशासनको कारबाहीमा परेकाले बढुवा सिफारिसमा नपरेका हुन्। गृहमन्त्री बालकृष्ण खाणले ठूलो दबाब थेगेर वरिष्ठता र कार्यसम्पादनका आधारमा बढुवा गरेर प्रहरीमा रहेको चेन अफ कमाण्डलाई बचाउन सफल हुनुभएको हो ।
वि.सं. २०५६ को पछिल्लो ब्याचबाट बढुवा लिष्टमा पर्न राजनीतिक नेतृत्वबाट ठूलो दबाब बढाइएको थियो । तर, त्यो दबाबलाई थेगेर गृहमन्त्री खाणले चेन अफ कमाण्डलाई बचाउँदै अघिल्लो ब्याचकाहरूलाई बढुवा सिफारिस गर्न निर्देशन दिएका थिए । त्यही अनुरुप बढुवा सिफारिस भएको छ।
‘चेन अफ कमाण्ड बचाएर गरिएको बढुवा सिफारिसले संगठनमा राम्रो सन्देश गएको छ। काम गरेमा सोर्स फोर्स नभए पनि कामको मूल्यांकन हुन्छ भन्ने सन्देश गएको छ,’ एक प्रहरी अधिकृतले भने ।
वरिष्ठता र कार्यसम्पादनका आधारमा बढुवा सिफारिस भएपछि बढुवा सिफारिस हुनेहरू त सन्तुष्ट भएका छन् नै सिफारिस नुहनेहरू पछिल्लो लटका पनि आफ्नो लटका कुनै पनि नपरेपछि असन्तुष्ट छैनन् । दुई चार जनालाई टपक्कै टिपेर बढुवा सिफारिस गरिने हो कि, आफूहरू नपरिने हो कि भन्ने चिन्तामा रहेका २०५६ को ब्याचका एसपीहरू कोही पनि नपरेपछि खुसी नै छन्।
सँगैका साथीहरू कोही सिनियर र कोही जुनियर नहुने भएपछि उनीहरू खुसी रहेको बढुवाको प्रयास गरेका एक एसपीले सुनाए। एसएसपी बढुवा सिफारिसमा जातीय कलस्टर पनि मिलाइएको छ।
एसएसपी बढुवामा दलित समुदायबाट डम्मरबहादुर बिश्वकर्मा परे भने मधेसी समुदायबाट उमाप्रसाद चतुरबेदी, मनोजकुमार यादव, संजिव शर्मा दास र सारदाप्रसाद चौधरी बढुवा भए।
जनजातीलाई पनि बढुवामा उपयुक्त स्थान दिइएको छ। एसएसपीमा बढुवा सिफारिसमा परेका विकले सरकारले चेन अफ कमाण्ड नभत्कनेगरी सबैलाई न्याय गरेर बढुवा सिफारिस भएको बताए।








प्रतिक्रिया