जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा विगत चार वर्षदेखि अघोषित रूपमा सञ्चालनमा रहेको धनुषाको सबैला नगरपालिकाको कार्यालय सारिएको छ ।
मंगलबार सबैला नगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) कारीराम यादवको निर्देशनमा अघोषित कार्यालयमा रहेको सरसामान सारिएको हो ।
मेयर यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८ बजरंगचोकमा सबैलाका तत्कालीन मेयर विजय शंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले कोठा भाडामा लिई अघोषित कार्यालय खडा गरेका थिए ।
“यसअघि मैले सो कार्यालय खाली गराउन निर्देशन दिएको थिएँ”, मेयर यादवले मधेश पाटी डटकमसँग भने, “अटेरी गरेर त्यहाँका सामान नसारेपछि मंगलबार कर्मचारीहरुसहित गएर त्यहाँ रहेका सामान नगपालिकाको कार्यालयमा ल्याएको हुँ ।”
तत्कालिन प्रशासकीय अधिकृतको डेराका लागि नगरपालिकाले भाडामा लिएको सो घरमा अघोषित रुपमा कार्यालय सञ्चालन हुने गरेको उनले बताए ।
त्यहाँ रहेका महत्त्वपूर्ण कागपत्र, अभिलेख, फर्निचर, प्रिन्टरलगायत सबै सामान नगरपालिकाको कार्यालयमा लगिएको छ ।
नगरपालिका र जनताका कागजात, अभिलेख, फर्निचरजस्ता सार्वजनिक सम्पत्ति नगरपालिका कार्यालयमै हुनुपर्ने भएकाले अघोषित कार्यालय खाली गरेको उनले बताए ।








प्रतिक्रिया