एसईईमा न्यूनतम ३५ अंक नल्याए अगाडि बढ्न नपाउने

मधेशपाटी अनलाइन     २०७९ श्रावण १०, मंगलवार २०:५१ बजे मा प्रकासित


मधेसपाटी डेस्क
काठमाडौ,१० साउन।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।

मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र संपरीक्षण अङ्कमा गरिनेछ । परीक्षण र संपरीक्षणबाट प्राप्त अङ्क (ग्रेड सिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अङ्क) ग्रेडमा रुपान्तरण हुनेछ ।

एसईईको नतिजा हेर्न सकिने साइटहरु

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा छिट्टै सार्वजनिक गर्दैछ । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाईटबाट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया





Top