चुनावी गठबन्धनबारेमा थप मजबुत बनाउने माओवादीमा ३ धारणा

न्यूज डेस्क     २०७९ श्रावण १३, शुक्रबार ०७:२१ बजे मा प्रकासित


काठमाडौँ । नेकपा माओवादी केन्द्रमा आगामी चुनाव र तालमेलका विषयमा नेताहरुको तीन धार देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही सत्ता गठबन्धनलाई नै थप मजबुत बनाउने धारणा अघि सरिरहेका बेला माओवादीभित्र कांग्रेस र एमालेबाहेकको छुट्टै समाजवादी मोर्चा बनाएर जानुपर्ने र एमालेसहितको वाम गठबन्धन बनाउनुपर्ने विषयमा पनि बहस भइरहेको छ । समाजवादी मोर्चा बनाएर चुनावमा जानुपर्ने धारको नेतृत्व नेता वर्षमान पुनले गरेका छन् भने एमालेसँग पनि मिलेर बृहत वाममोर्चा बनाउनुपर्ने पक्षमा नारायणकाजी श्रेष्ठ देखिएका छन् ।

श्रेष्ठले २९ जेठमा एमाले अध्यक्ष ओलीलाई भेटेरै वाम गठबन्धनका विषयमा छलफल गरे । बालकोटमा ओलीसँग झण्डै साढे २ घण्टा कुरा गरेका श्रेष्ठले राष्ट्रियतामा इतिहासमा नभएको संकट देखा परेको लगायतका विषयमा छलफल गरे पनि कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको बताएका थिए । त्यसपछि पनि श्रेष्ठले एमालेसहितको वाम गठबन्धनको प्रयास छाडेका थिएनन् । यो बीचमा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले पनि श्रेष्ठलाई भेटेका थिए ।

एमालेसँग तालमेल वा एकताको प्रयत्नमा नेता शक्ति बस्नेत पनि लागेका थिए । एमाले विभिन्न नेताहरुसँग बस्नेतले संवाद समेत गरेका थिए । पछिल्लो समय ९ साउनमा एमाले नेता घनश्याम भुसाल र बस्नेतको भेटघाट भएको थियो । सुरुमा एमालेसहितकै तालमेलका पक्षमा माओवादी नेता वर्षमान पुन लागेका थिए । त्यसै प्रयासमा उनले एमाले नेताहरुसँग संवाद पनि बढाएका थिए । २८ जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र पुनको भेट भएको थियो । यही मेसोमा उनले घनश्याम भूसालसँग पनि पटक–पटक संवाद गरेका थिए ।

अहिले गठबन्धन भित्रकै वाम दलहरुबीच समाजवादी केन्द्र बनाउन अभ्यास भइरहेको छ । सकेसम्म पार्टी एकताकै प्रयास गर्ने नभए समाजवादी केन्द्र मोर्चा बनाउने प्रयासमा नेताहरु लागेका छन् । तर, चरण–चरणमा बैठकहरु भइरहेको भए पनि यसले ठोस रुप भने लिइसकेको छैन ।

प्रतिक्रिया





Top