आफ्नै आसेपासेलाई पैसा बाँडेपछि स्थानीयले लगाए ताल्चा

न्यूज डेस्क     २०७९ श्रावण २३, सोमबार ०९:३४ बजे मा प्रकासित


जनकपुरधाम। कोरोना प्रभावितका लागि आएको अनुदान रकम वडा अध्यक्षले कोरोना प्रभावितलाई नदिई आफ्नै आसेपासेलाई बाँडेको भन्दै रौतहटको गरुडा नगरपालिका – २ गेड्ही गुठ्ठी वडा कार्यालयमा स्थानीयहरुले आइतवार तालाबन्दी गरेका छन् ।

कोरोना भाइरसबाट पीडित भएका परिवारहरुका लागि केही राहत पुग्ने उद्देश्यले सरकारले स्थानीय तह मार्फत प्रति परिवार १० हजार रुपैया नगद हस्तान्तरण गर्ने योजना ल्याएको थियो । तर गरुडा नगरपालिका २ का वडा अध्यक्ष कृष्णन्दन सहनीले कोरोनाबाट वास्तविक पीडित परिवारलाई सो रकम नदिई आफ्नै नातागोता,कार्यकर्ता तथा आसेपासेलाई वितरण गरेको भन्दै आक्रोशित स्थानीयबासीहरुले आइतवार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका छन् । कोरोनाबाट वास्तविक रुपमा पीडित भएका परिवारलाई वडा अध्यक्ष सहनीले अनुदान रकमबाट बञ्चित गरी चुनावमा आफूलाई सहयोग गर्ने व्यक्तिलाई मात्र सो रकम दिएको भन्दै स्थानीयहरु वडा अध्यक्ष सहनी विरुद्ध आन्दोलित हुँदै वडा कार्यालय घेराउ गनुका साथै तालाबन्दी गरेका हुन् । कोरोना प्रभावितका लागि आएको रकम बास्तविक रुपमा कोरोनाबाट प्रभावित पीडित परिवारलाई दिनुपर्ने माग स्थानीयहरुले गरेका छन् । त्यस्तै वडा कार्यालयमा केही दिनदेखि सचिव नहुँदा आफूहरुको कामकाज प्रभावित हुँदै आएकोले यथाशीघ्र सचिवको व्यवस्थापन हुनुपर्ने उनीहरुले बताएका छन् ।

त्यस्तै वडाबाट प्रदान हुने मलखाद वितरणमा समेत वडा अध्यक्ष सहनीले आफ् नो मनोमानी गर्दै आफ्नै मान्छेलाई मात्र दिने गरेको भन्दै मलखाद पनि पारदर्शी ढंगले सबै किसानलाई उपलब्ध गराउनुपर्ने माग स्थानीयहरुले गरेका छन् । आफूहरुको यी मागहरु पुरा नहुन्जेलसम्म आफ्नो आन्दोलन जारी नै रहने र ताला कुनै हालतमा नखोल्ने स्थानीयहरुले अडान लिएका छन् । आफूहरुको माग तुरुन्त पुरा नभए यो भन्दा पनि कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया





Top