धनुषा क्षेत्र नं.१ मा मातृका देखि ढुंगाना, मण्डल र कार्की  नेताबीच संसदीय चुनावमा प्रतिस्पर्धा

न्यूज डेस्क     २०७९ श्रावण ३१, मंगलवार १८:३९ बजे मा प्रकासित


जनकपुरधाम। धनुषामा यसपटक मधेशका ‘हेभी वेट’ उम्मेदवारका रूपमा चिनिने ‘भेट्रान’ नेताहरूबीच संसदीय चुनावमा प्रतिस्पर्धा हुने भएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवले फेरि पनि दाबी गरेका छन् ।

उनी त्यस क्षेत्रका बहालवाला सांसद पनि हुन्। नेकपा माओवादीका प्रभावशाली नेता यादव पहिलो पटक २०७४ सालको निर्वाचनमा प्रत्यक्ष चुनाव लडेर जित्न सफल भएका थिए।

त्यसअघि अन्तरिम संसदमा सांसद बनेका यादव २०६४ साल तथा  २०७० सालको चुनावमा समानुपातिक सांसद बनेका थिए। पटक–पटक मन्त्री बनेका यादव अन्तिमपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए ।

जनयुद्धमा सहभागी भएका यादवको धनुषाबाहेक मधेश प्रदेशमा नै प्रभाव रहेको हुनाले उनी प्रभावशाली नेताका रूपमा मानिन्छन्।

मधेशका अर्का प्रभावशाली नेता प्रभु साहले माओवादी छाडेपछि मधेशमा अहिले उनी एक मात्र प्रभावशाली नेताका रूपमा देखिएका छन्।

नेकपा माओवादीपछि एकीकृत नेकपा माओवादी हुँदा यादवले आफ्नै नेतृत्वमा नेकपा माओवादी दर्ता गराएका थिए। पछि फेरि उनी माउ पार्टीमा नै फर्किए ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट आनन्द ढुंगाना पनि दाबेदार छन्। तीनपटक प्रत्यक्ष निर्वाचन जितेका ढुंगाना २०७४ सालमा पराजित भएका थिए।

विगतमा मन्त्री समेत भइसकेका ढुंगाना माओवादीलाई उक्त क्षेत्र छाड्नुपर्ने अवस्थामा समानुपातिकमा बस्न सक्ने चर्चा पनि छ ।

नेकपा एमालेबाट रामचन्द्र मण्डल दाबेदार देखिएका छन्। उनी माओवादी केन्द्रबाट २०७४ सालमा प्रदेश सभामा निर्वाचित भएका थिए । माओवादी छाडेर नेकपा एमाले रोजेपछि उनको सांसद पद गुमेको हो।

यसअघि माओवादी केन्द्रबाट २०६४ तथा २०७० सालको संविधान सभा निर्वाचनमा उनी पराजित भएका थिए। जनता समाजवादी पार्टीका तर्फबाट दीपक कार्की दाबेदार देखिएका छन् ।

प्रतिक्रिया





Top