जसपा र लोसपालाई मधेश प्रति माया छ भने तालमेल गर्न तयार छौं’: नेता साह

न्यूज डेस्क     २०७९ भाद्र १, बुधबार १३:१४ बजे मा प्रकासित


 

जनकपुरधाम। जनकपुरधाममा मंगलबार  आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका नेता बीपी साहले मधेश केन्द्रित शक्तिहरुबीच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कितामा उभिन खोजेको आरोप लगाए ।

‘हाम्रो पार्टी मधेशको मूल पार्टी हो। हामी मधेश र मधेशको मुद्दाप्रति जिम्मेवार छौँ। त्यसैले हाम्रो पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा र लोसपाका अध्यक्षहरुलाई भेटेर मधेशकै मुद्दामा कायम रहन आग्रह गर्नु भयो। तर उहाँहरु अन्य पार्टीको पछाडि लाग्नुभयो।’

नेता साहले भने,‘जसपा र लोसपालाई मधेश र मधेशीप्रति माया मोह छ भने मधेशमा उहाँहरुसँग तालमेल गर्न तयार छौं।’

उनले जनमत पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको र वडा स्तरमा सशक्त रुपमा तयारी भइरहेको जानकारी दिए।

‘हामी एक्लै चुनावमा उठेर पनि धेरै सिट जित्न सक्छौँ। जनमत पार्टीप्रति स्थानीय चुनावको भन्दा फरक लहर गाउँघरमा उठिरहेको छ’,  नेता साहले भने, ‘विपक्षीहरु जति दलीय गठबन्धन गरे पनि जनमतले राम्रो सिट ल्याउनेछ।’ नेता साहले पार्टी बाहिरबाट पनि कोही उम्मेदवार बन्न चाहेमा आफूहरु खुला रहेको जानकारी दिए।

प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी थिए। जनमत पार्टीले आगामी चुनाव केन्द्रित मधेशका प्रत्येक जिल्लामा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

 

प्रतिक्रिया





Top