जनकपुरधाम। धनुषामा यसपटक मधेशका ‘हेभी वेट’ उम्मेदवारका रूपमा चिनिने ‘भेट्रान’ नेताहरूबीच संसदीय चुनावमा प्रतिस्पर्धा हुने भएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादव दुईपटक निर्वाचित भइसकेका छन्।
२०६४ सालको संविधान सभा चुनावमा जितेर आएपछि उनी संसद्को सार्वजनिक लेखा समिति सभापति समेत भएका थिए। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रोपटक जितेका उनी चुनावी सरकारमा कृषि मन्त्री समेत बनेका थिए । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट तेस्रोपटक समेत टिकट पाएका उनी पराजित भएका थिए ।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति गरेका उनी २०४० सालमा स्वतन्त्र विद्यार्थी युनियनका सभापति भएका थिए ।
नेपाली कांग्रेसको मूल राजनीतिमा आएपछि क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै दुईपटक जिल्ला सभापति समेत भएका थिए। त्यसपछि नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। २०७८ सालमा सम्पन्न भएको १४ औं महाधिवेशनमा उनी सहमहामन्त्रीमा पराजित भएका थिए।
उक्त संसदीय क्षेत्रबाट आफ्नो उम्मेदवारीको दाबी रहेको उनले बताए। ‘गठबन्धन हुँदा पार्टीले के निर्णय गर्छ त्यो थाहा छैन, तर यस क्षेत्रबाट पटक–पटक मैले चुनाव जित्दै आएको तथा गत स्थानीय तहको निर्वाचनमा समेत प्रभावकारी भूमिका निर्वाह गरेर चुनाव जिताएको आधारमा पनि टिकट पाउनुपर्छ,’ यादवले लोकान्तरसँग भने ।
उक्त क्षेत्रबाट रामकृष्णबाहेक केन्द्रीय समितिमा सबैभन्दा बढी मत ल्याएर जितेकी मुक्ता यादव पनि टिकटको प्रबल दावेदार छिन् ।
२०७० सालको संविधान सभा चुनावमा समानुपातिक सांसद बनेकी उनी २०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । दुई वर्षे राष्ट्रिय सभाको कार्यकाल सकिएपछि उनी राष्ट्रिय सभाबाट बाहिरिएकी थिइन् ।
त्यसैगरी २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित दिनेश प्रसैला यादव पनि दाबेदार छन्।
उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सचिवालय सदस्य रामचन्द्र झा पनि दाबेदार छन्। कम्युनिष्ट पार्टीका नेताहरूमध्ये समकालीन राजनीतिमा उनी सिनियर नेताका रूपमा चिनिने गर्छन्।
उनी नेकपा एमालेबाट २०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका थिए। त्यसपछि २०६४ सालको संविधान सभाको चुनावमा समेत नेकपा एमालेबाट निर्वाचित भएका थिए। संविधान सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा स्थानीय विकास मन्त्री समेत बनेका थिए।
त्यसपछि २०७० सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडे पनि पराजित भएका थिए। २०७४ सालको चुनावमा फेरि माओवादीबाट चुनाव लडेका उनी पराजित भएका थिए।
नेकपा एमालेबाट राजनीति गरेका झा एमालेको धनुषा जिल्ला सचिव हुँदै केन्द्रीय समितिमा पटक–पटक निर्वाचित हुँदै पोलिटब्युरो सदस्य समेत भएका थिए ।
२०४६ सालको जनआन्दोलनमा नेकपा एमालेको ब्यानरमा आन्दोलन नेतृत्व गरेका उनले २०६२/६३ सालको जनआन्दोलनको पनि अगुवाइ गरेका थिए।
धनुषासहित मधेशका विभिन्न जिल्लामा कम्युनिस्टको संगठन बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
पछि एमाले परित्याग गर्दै माओवादी, नयाँ शक्ति, फेरि माओवादी हुँदै अहिले उनी एकीकृत समाजवादीको सचिवालय सदस्य छन्।
त्यसैगरी उक्त क्षेत्रबाट निर्वाचित भएका सांसद उमाशंकर अरगरिया लोसपाबाट उम्मेदवारीका लागि दाबेदार हुन् ।
तत्कालीन समाजवादी पार्टीबाट चुनाव जितेका उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध छन्।
२०६३ सालको मधेश आन्दोलनमा तत्कालीन मधेशी जन अधिकार फोरममा आवद्ध भएका उनी लामो समयसम्म पूर्व सांसद सञ्जय साह ‘टकला’ सँग नजिक रहेर काम गरेका थिए ।
पछि उनी विजय गच्छदारको नेतृत्वमा बनेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालबाट २०७० सालको संविधान सभा निर्वाचनमा उठेर पराजित भएका थिए।
गच्छदार नेपाली कांग्रेसमा लागेपछि उनी समाजवादी पार्टीमा लागेर निर्वाचित भएका थिए।
उनी अहिले लोसपाका सांसद भए पनि चुनाव भने नेकपा एमालेबाट लडाउने एमालेको तयारी छ।
लोसपाको संगठन बलियो नभएको तथा एमालेको संगठन बलियो भएको हुनाले उनी एमालेबाट नै चुनाव लड्ने निश्चित रहेको एमालेको उच्च स्रोतको दावी छ।
यद्यपि यस विषयमा अरगरियाले अहिले केही पनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
त्यसैगरी जनता समाजवादी पार्टीबाट रमण कन्स्ट्रक्सनका मालिक बलराम महतो पनि उक्त क्षेत्रका लागि दाबेदार छन्।
यसअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उनी जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार उठे पनि पराजित भएका थिए।
धनुषाको २ नम्बर क्षेत्रबाट सांसद पदमा टिकट पाउने आश्वासनसहित उनी जसपामा प्रवेश गरेका छन् ।








प्रतिक्रिया