जनकपुर रोयल्सले अन्तराष्ट्रिय स्तरको क्रिकेट टीममा सहभागिता जनाउने

मधेशपाटी अनलाइन     २०७९ भाद्र ६, सोमबार २१:४८ बजे मा प्रकासित



 

जनकपुरधाम। सेप्टेम्बर महिनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलका लागि जनकपुरको टिम समेत खेल्ने निश्चित भएको जनाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो सेप्टेम्बर २४ तारिखदेखि हुने एनपीएलमा जनकपुरको टिम जनकपुर रोयल्सले एक भारतीय कम्पनीको अनरसीपमा सहभागिता जनाउने निश्चित भएको मधेश क्रिकेट संघले जानकारी दिएको छ ।

सोमवार पत्रकार सम्मेलन आयोजना गरी संघका प्रदेश अध्यक्ष हिरा भगतले क्यानको आयोजनामा हुन लागेको एनपीएलमा खेल्न जनकपुर रोयल्स टीम भारतको राजस्थान जयपुरका गोल्ड स्पोर्टस प्रा.लि.ले खरीद गरेको जानकारी दिए ।

जनकपुर रोयल्सले अन्तराष्ट्रिय स्तरको क्रिकेट टीममा सहभागिता जनाउने भएपछि जनकपुर चिनिने भएकोले यहाँको खेल संगै अन्य विकासमा ठूलो टेवा पुग्ने जसमा भारतको ठूलो योगदान रहने अध्यक्ष भगतले बताए । उनले भने, यहाँ स्थानीय स्तरमा खेल ग्राउण्डका लागि विभिन्न स्थानमा अनुगमन पनि गरिएको पछि त्यहाँ काम गरिनेछ ।

टीमको अनरको तर्फबाट गोल्ड स्पोर्टस प्रा.लि.का निर्देशक गौरीशंकर धमानीले खेलको क्षेत्रमा जनकपुरधामको विकासका लागि आफूले जनकपुर रोयल्स टीमलाई चयन गरेको बताए ।

उनले भने​, ‘जानकी माताको सेवा गर्ने सोच पहिल्यै देखि रहेकोले जनकपुरको टिम आफूहरुले खरिद गरेको छु, जानकी माताले आफूलाई यहाँ बोलाएकाले जनकपुरमा खेल विकासका लागि आफू सक्दो सहयोग गर्नेछु ।` गोल्ड स्पोर्टसले जनकपुर रोयल्स टीमलाई ८ वर्षका लागि खरीद गरेको जानकारी गराइएपनि के कति मूल्यमा खरिद गरेको सञ्चारकर्मीको जिज्ञासामा धमानीले खुलाएन ।

सो लिगमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी सहित देशका ६ वटा टिमले सहभागिता जनाउने छ  । जसमध्ये जनकपुर रोयल्स सहित कान्तिपुर, लुम्बिनी र विराटनगर गरी ४ वटा टिम निश्चित भइसकेको छ भने अन्य दुई टिमको खोजी भइरहेको अध्यक्ष भगतले जानकारी दिए ।

जनकपुर रोयल्स टिम नाम भएको कारण जनकपुरका कति खेलाडी खेल्न मौका पाउने भन्ने सञ्चारकर्मीको जिज्ञासामा धमानीले भने, `हामीले टिम र खेलाडी मात्र चयन गरी खरीद गर्ने हो, जनकपुरको वा अन्य ठाउँको कति खेलाडीलाई सहभागी गराइनेछ भन्ने कुरा आयोजक टीम क्यानमा भरपर्छ ।`

सो लिगमा नेपाली खेलाडीहरुका साथै विदेशी खेलाडीहरुले समेत सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागीका लागि ९६ जना खेलाडीले लिलामी हुनेछ । लिलामी हुनेमा ६६ जना नेपाली खेलाडी र ३० जना भारत, पाकिस्तान, बंगलादेश र अष्ट्रेलियासहितका देशका विदेशी खेलाडी लिलामीमा सहभागी हुने छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लिलामीका लागि ए, बी र सी गरी तीन श्रेणीमा बाँडिएको जानकरी दिदैं अध्यक्ष भगतले खेलाडीको बेस प्राइस ५ लाख रुपैया हुनेछ । जसमध्ये ए श्रेणीका खेलाडीको १५ लाख, बी श्रेणीका खेलाडीको १० लाख र सी श्रेणीका खेलाडीको ५ लाख मूल्य राखिएको बताए ।

 

प्रतिक्रिया





Top