सुरक्षाकर्मीलाई चुनौती दिदै बन्दुक देखाएर लाखौंको लुटपाट,शान्ति सुरक्षा कायम गर्न प्रहरी असफल

न्यूज डेस्क     २०७९ भाद्र १२, आईतवार २१:२७ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही ।।सुरक्षाकर्मीलाई चुनौती दिदै सर्लाहीको गोडैता नगरपालिका वार्ड न. ८ स्थित सिसौटिया रोडमा लालिगुराँस बहुउदेश्यीय कृषि सहकारी संस्थाले संचालन गरेको सिटी एक्सप्रेसबाट बन्दुकधारी अज्ञात व्यक्तिले ९ लाख ५० हजार बराबरको नगद लुटपाट गरेपछि स्थानिय व्यापारी त्रसित भएका छन ।फिल्मी शैलिमा प्रहरी चौकी भन्दा ५ सय मिटरकै दुरीमा दिनदहाडै वित्तिय संस्थामा बन्दुक देखाएर भारी रकम सहितको लुटपाट भएपछि स्थानिय व्यापारी लगायत सर्वसाधारणहरु भयको वातावरणमा बाँच्न बाध्य हुदै आएको छ ।

 

गएको भदौ १० गते शुक्रवारका दिन बिहान १०ः१५ को समयमा २ वटा मोटरसाईकलमा सावर भएर आाएका ४ जना अज्ञात व्यक्तिले हतियार देखाएर ल्यापटप, मोबाईल सहित नगद रकम लुटपाट गरेका थिए । गोडैता बजारमा लुटपाट भएको जानकारी प्राप्त हुने बितिकै डिएसपी विजय कुमार यादवको कमान्डमा जिल्ला प्रहरी कार्यलय, सर्लाहीका एक टोलि घटनास्थलमा पुगेका थिए । घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरि रेमिटेन्स कर्मचारी लगायत केही स्थानीय व्यक्तिलाई जिल्ला प्रहरी कार्यलयमा सोधपुछका लागि समेत बोलाएको थियो । संस्थाको वित्तिय कारोबार हुने ल्यापटप र मोबाईल फोन समेत लगेका कारण प्रविधिको प्रयोग पनि पता लगाउने काम जारी रहेको प्रहरी कार्यलयले जनाएको छ ।

घटना भए लगत्तै जिल्लाका विभिन्न ठाउँमा चेक पोस्ट खडा गरेर चेकजाँचमा कडाई गर्नुको साथै अपराधीहरुको खोजी कार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यलाय सर्लाहीका प्रवक्ता विजय कुमार यादवले जानकारी दिए । रेमिटेन्सका कर्मचारी, स्थानीय शंकास्पद व्यक्तिसंग सोधपुछ जारी रहेको तथा तत्काल केही भन्न नसक्ने बताउदै अनुसन्धान जारी रहेको प्रवक्ता यादवले बताए ।

शान्ति सुव्यवस्था कायम गर्नमा प्रहरी प्रशासन असफल भएको भन्दै व्यापारीले प्रहरीको विरुद्व टायर बालेर प्रदर्शन गर्नुका साथै शान्ति सुरक्षाको जोडदार माग गरेका छन ।

 

यसरी भयो घटना  ! 

संस्थाका संचालक सुवास कुमार यादव का अनुसार कारोबार सुरु गरेको केही समय नबित्दै २ वटा मोटरसाईकलमा आएका ४ कोठाभित्र छिर्ने बित्तिकै हिन्दी भाषामा बोल्दै काठमाडौंबाट १ लाख पठाउनु छ, कति समय लाग्छ भनी सोधेपछि १० मिनेटमै भईहाल्छ, भनी मैले जवाफ फर्काएको थिए । केही मिनेट नबित्दै हाम्रो २ जना साथी माथी बन्दुक तेर्साएर गाली गर्दै पैसा माग्दै मेरो गालमा समेत अन्धाधुन्ध थप्पड हानेपछि हामी डराएको उनले भने । बन्दुक देखाएर काउण्टरको दराजमा भएको सबै पैसा खोस्न थाले । पहिलो दराजमा २५ देखि ३० हजार र अर्काेमा ३० देखि ४० हजार जतिको रकम रहेका थिए, उनले भने । बैंकबाट ल्याएर राखेको रकमवाला झोला समेत खोसेर लगेको बताए ।

साँझ बाँकी रहने रकम बैंकले डिपोजिट गर्न नमानिरहेको र डिपोजिट गरिहालेपनि भोलि भारी रकम निकाल्न खोज्दा अनकानी गर्दा पैसा डिजोजिट नगर्ने गरेको बताए । नगदको साथै कार्यालय प्रयोजनका लागि राखेको ल्यापटप, कोठा भित्र रहेका दुवै सेवाग्राहीका २ थान फोन र एक थान मेरो गरी ३ थान मोबाईल फोन समेत खोसेको बताए ।

उनिहरु हाम्रो मोटरसाईकलका साँचो समेत खोसेर बाहिर फालिदियो र बाहिर निस्कने बेलामा बाहिरबाटै सटर गिराएर फरार भएको बताए । उनिहरु भारतिय नम्बर प्लेट भएका २०० सिसिका अपाचे र नेपाली नम्बर प्लेट भएका टु२० मोडेलका पल्सर बाईक सवार भएर आएको तर गाडी नम्बर पहिचान गर्न नसकेको संचालक यादवको कथन थियो ।

सुरक्षा विनै लाखौंका कारोबार  ?

संस्थाका संचालक पक्षका समेत कमजोरी देखिएका छन । लाखौंका कारोबार हुने संस्थामा निगरानीका लागि सिसिटिभी क्यामेरा समेत जडान भएका छैन, भने साँघुरा कोठामा कारोबार भईरहेको पाइएको छ । भने नगद भण्डारणका लागि कडा सुरक्षा सहित दराज समेत नरहेका छन । सुरक्षाका दृष्ट्रिकोणले व्यपाक लापरवाहीमा लाखौंका कारोबार भईरहेको देखिन्छ ।

सार्वजनिक सिसिटिभी समेत बिग्रिएको  ! 

स्थानिय सरकारले चोरी पैठारी रोकथाम तथा बजार अनुगमनका लागि बजारका विभिन्न ठाउँहरुमा १४ थान सिसिटिभी जडान गरेका छन । जसको मोनिटिंग प्रहरी चौकी गोडैताले गर्दै आएका थिए तर चुनाव भन्दा अगाडी नै सबै सिसिटिभी बिग्रिएको गौडैता प्रहरी चौकीका असई ओपेन्द्र चौधरीले बताए ।

स्थानिय सरकारले बाजर अनुगमनका लागि जडान गरेका सिसिटिभीमा विडियोको गुणस्तर राम्रो नभएको कारण रेकर्ड हुने विडियोको दृश्य समेत प्रष्ट नदेखिने गरेको स्थानिय व्यापारी बताउछँन । तरकारी बजारमा मात्र ३ वटा सिसिटभी क्यामेरा जडान भएपनि प्रत्येक बजारका दिन सर्वसाधारणको गोजीबाट नगद र मोबाईल चोरी हुदै आएका छन ।

बजारमा दिनहुँ चोरी, लगायतका अपराधिक क्रियाकलाप हुने गरेका छन । तर क्यामेरामा जाँच गर्दा दृश्य प्रष्ट नदेखिएको उनिहरुले गुनासो गरे । विगतका समयमा पनि सिसौटिया रोडमै मोटरसाईकल चोरी भएको थियो तर सिसिटिभीमा देख्दा चोरी गर्ने व्यक्तिको अनुहार प्रस्ट नदेखिएपछि सिसिटिभीको गुणस्तरमाथि नै प्रश्न उठाईएको थियो ।

नगरभित्र इप्रका नहुदाँ सुरक्षाका लागि जिल्ला र अन्य पालिकामा भर   ?

सर्लाहीका गोडैता नगरपालिकामा एउटा पनि इप्रका नहुदाँ ६ वटा वडा अन्य पालिकाका इप्रका र ६ वडा जिल्लाले हेर्दै आएका छन । वार्ड न. २ र ३ लाई बिष्णु गाउँपालिका का मधुवन प्रहरी चौकीले हेर्दै आएका छन । वार्ड न. १, २, ३, ४ र १२ लाई बलरा नपाको ईलाका प्रहरी कार्यलय, गडहिया डुमरिया, वार्ड न. ५ रामवनलाई धनकौल गाउँपालिकाका हरकठवा प्रहरी चौकी र बरहथवा इप्रकाले हेर्दै आएका छन । वार्ड न. ६, ७, ८, ९, १० र ११ गरी पालिका का ६ वटा वार्डलाई गोडैता प्रहरी चौकी र जिल्लाका यूनिटले हेर्दै आएका छन ।

सुरक्षाकर्मीको अभावमा घटना भएको व्यापारी र जनप्रतिनिधिको आरोप  ?

दिनदहाडै बन्दुक देखाएर भारी रकम लुटपाट भएको घटनाको प्रति आक्रोश पोख्दै उद्योग वाणिज्य संघ, शाखा गोडैताका अध्यक्ष ओपेन्द्र हजारीले सुरक्षाकर्मीको निन्दा गरे । २० बर्षको अवधिमा यो बजारमा वित्तिय संस्थामा बन्दुक तेर्साएर लुटपाट भएको पहिलो घटना भएको बताउदै पुलिस प्रशासनको कमि कमजोरीले लुटपाट भएको आरोप लगाउनुको साथै घटनाको जिम्मेवारी सुरक्षाकर्मीले लिनुपर्ने बताए । बजारको शान्ति सुरक्षाको कानुन लडाईका लागि जिल्लादेखि प्रदेशसम्म पुग्ने बताउदै गोडैता प्रहरी चौकीका सबै प्रहरीको ठाउँमा नयाँ टोलिको माग समेत गरे ।

प्रशासनसंग शान्ति सुरक्षा तथा बजारमा डिउटीको माग गर्दा जनशक्तिको अभाव देखाउदै पन्छिदै आएको संघका उपाअध्यक्ष गोपि दासले बताए । घटना भएको खबर बारे जानकारी गराउदा आधा घण्टामा प्रहरी घटनास्थलमा पुग्ने गरेको तितो अनुभव हामीसंग छ । सर्वसाधारणलाई शान्तिको प्रत्याभूति दिलाउन र बजारमा शान्ति सुव्यवस्था कायम गर्नमा प्रशासन असफल भएको जिकिर गरे । बजारमा अपराध नियन्त्रण तथा अनुगमनका लागि जडान गरिएको सिसिटिभी बिग्रिएको बारे स्थानिय निकाय अनविज्ञ रहेको टिप्पणी गरे ।

 

२ बर्ष अगाडी मोहनबहादुर जिसि सिडिओ हुदाँ बखतको समय  देखि बोर्ड बैठकबाट निर्णय गरी गोडैता नगरपालिकामा इप्रका संचालनका लागि माग गर्दै आएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले बताए । नेपाल सरकारको निर्णय बमोजिम एक स्थानिय तह र एक इप्रका हुनुपर्ने संवैधानिक प्रवधान भएपनि हाम्रो पालिकामा एउटा पनि इप्रका संचालनमा आउन नसकेको गुनासो गरे । आफूले पटक पटक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र नेपाल प्रहरीका एसपी प्रवीण पोखरेललाई गोडैतामा ईलाका प्रहरी कार्यालयको स्थापना गर्न अनुरोध गरेपनि उहाँहरूले चासो नदिँदा घटना घटेको आरोप समेत लगाए ।

जिल्लाका केही पालिका २ देखि ३ वटासम्म इप्रका रहेपनि गोडैतामा ३० हजार जनसंख्याका शान्ति सुरक्षा कायम गर्न ८ जना प्रहरीको दरबन्दी रहेका छन । रेमिटेन्समा भएको डकैटीले व्यापारी, सर्वसाधारण लगायत हामीलाई समेत सुरक्षाको भय लागि सकेको बताए । दिउँसैको समयमा हतियार देखाएर भएको लुटपाट घटना निन्दनीय भएको र यसको घोर भत्र्सन गर्दै प्रशासनसंग इन्स्पेक्टरको कमाण्डमा २५ जना प्रहरी रहने गरी इप्रका व्यवस्थापनको लागि जोडदार माग गरेको बताए ।

सिमावर्ती क्षेत्रमा खुलेआम रक्सी बिक्री वितरण र उत्पादनका कारण सुरक्षामा चुनौती ! 

यता गोडैता नगरपालिका १२ वटा वडा भएका भारतीय सिमासंग जोडिएका पालिका रहेका छन । जनसंख्याका हिसाबले पनि ५० हजारभन्दा माथि भएपनि एउटा पनि ईलाका प्रहरी कार्यलय रहेका छैन । अन्तर्राष्ट्रिय सिमामा भारी संख्यामा दोहोरो देशका नागरिकका आवगमन र सिमामा हुने आर्थिक कारोबारले गर्दा सिमावर्ती क्षेत्रमा पर्ने बजार उच्च जोखिममा पर्दै आएका छन । भारतीय नागरिकलाई लक्षित गरी सिमावर्ती क्षेत्रमा प्रहरीकै मिलोमतमा खुलेआमे घरेलु मदिरा उत्पादन र बिक्रि वितरणले गर्दा पनि अपराधिक कियाकलाप बढदै गएको स्थानिय बताउछन ।

शान्ति सुरक्षा र अपराधिक क्रियाकलापका उच्च जोखिममा रहेका यस क्षेत्रमा संचालनमा रहेका प्रहरी चौकी समेत जनशक्ति र भौतिक पूर्वाधारका चरम अभावको समस्या झेल्दै आएका छन । जिर्ण भौतिक संरचना, गस्तीका लागि सवारी साधान र जनशक्तिले अभावमा सुरक्षाकर्मीहरु सुरक्षामा खटिन बाध्य हुदै आएका छन ।

गोडैता नगरपालिका ३२ किमि लम्बाई भएको र भारतसंग सिमाना जोडिएको नगरपालिका रहेका छन । बरहथवा, लालबन्दी, हरिवन, इश्वरपुर नगरपालिकाहरूमा कहीँ ३ त, कही २ वटा सम्म इप्रका छन तर गोडैतामा एउटा पनि नभएको कारण मनि ट्रान्सफर लुटिएको व्यपारीहरुको भनाई रहेका छन ।

 

 

 

 

प्रतिक्रिया





Top