बाढीले ३ सयभन्दा बढी घर डुबानमा, उद्धारको काम जारी

न्यूज डेस्क     २०७९ आश्विन १, शनिबार १२:४३ बजे मा प्रकासित


जनकपुरधाम। लगातारको वर्षापछिको बाढीले कञ्चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा परेका छन्।

मोहना, दोदा, बनहरा नदीको बाढीले शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बाढीमा फसेका शुक्लाफाँटा–१२ दुवाहाका ४ परिवारका १६ जनाको उद्धार गरिएको डीएसपी चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।

शुक्लाफाँटा–११ बनहरा शिविरमा २५ घर, वडा नं. १२ दुवाहामा ४ घर, कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीमा ६०-७० घर, वडा नं. ४ मा ७०-८० घर, बेलौरी–५मा ३ घर र लालझाडी–३ मा १००–१५० घर डुबानमा परेका छन्।

बाढी प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। ‘बाढी प्रभावित बस्तीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका छौं, शुक्लाफाँटा र कृष्णपुरका बाढी प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा राखी सकेका छौं,’ उनले भने, ‘लालझाडीमा उद्धारको काम भइरहेको छ।’

प्रतिक्रिया





Top