तराई मधेशमा ओली क्रेज, नेकपा एमालेकाे बढ्दो जनलहर

मधेशपाटी अनलाइन     २०७९ आश्विन ४, मंगलवार १०:३० बजे मा प्रकासित


जनकपुरधाम ,असोज ४ । हर्षबढाइँ र तनावका बीचमा नेपालको नयाँ संविधान जारी भएको सात वर्ष पुगिसकेछ । अन्तरिम संविधान २०६३ ले दिएको अधिकार समेत कटौती गर्न लागेको/गरेको भन्दै यो संविधान जारी हुनुभन्दा अघि र पछि ६ महिना तराई-मधेश आन्दोलित भएको थियो ।

त्यसबेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूले मधेशलाई झनै चिढ्याएको थियो । जसले गर्दा ‘एमाले सबभन्दा ठूलो मधेश विरोधी पार्टी हो’ भन्ने संकथन बनेको थियो । मधेशका कतिपय ठाउँमा एमाले पार्टी कार्यालय तोडफोड समेत भयो ।

संविधान घोषणापश्चात् एमालेकै नेतृ विद्यादेवी भण्डारी राष्ट्रपति बनिन् । २०७३ सालको विवाहपञ्चमीमा जानकी मन्दिर दर्शन गर्न आउँदा उनीविरुद्ध चर्को नाराबाजी र तोडफोड समेत भयो । ‘भण्डारी पनि मधेशकी घोर शत्रु हुन्’ भन्ने आम मधेशीको बुझाइ बनेको थियो । कतिसम्म भने एमालेका शीर्ष नेताहरूलाई मधेशमा पाइला राख्नै गाह्रो भयो ।

मधेशमा एमालेप्रति कति वितृष्णा फैलियो भने उसले मेची-महाकाली यात्राको क्रममा सप्तरीको मलेठमा कार्यक्रम गर्न खोज्दा अवरोध भयो । त्यसक्रममा प्रहरीको गोलीबाट पाँच जना आन्दोलनकारी मारिए । त्यसयताको सात वर्षमा भने तराई-मधेशको राजनीतिक परिवेश पूरै फेरिएको छ । एमालेलाई मधेश विरोधी भनेर निषेध गर्ने, पार्टी कार्यालय जलाउनेहरू अहिले धमाधम त्यही एमालेमा पसिरहेका छन्, मानौं मधेशी नेता-कार्यकर्ता र मधेशको भविष्य एमालेको छहारीमा बाहेक अन्यत्र छैन ।

त्यसो त गत वैशाखको स्थानीय तह निर्वाचनमा नै मधेश प्रदेशमा एमाले नेपाली कांग्रेसपछि दोस्रो लोकप्रिय दलको रूपमा आइसकेको छ । अहिले संघीय संसद् र प्रदेश सभा निर्वाचनको मुखमा अन्य दलहरूबाट एमाले प्रवेश गर्ने होड चलेको शृंखलाबद्ध दृश्य देखिन्छ ।

किन प्रवेश गर्दैछन् एमाले ?

गत भदौ २७ गते जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजित एमाले प्रवेश कार्यक्रममा अध्यक्ष ओली नै आएर धनुषा कांग्रेसका पूर्व-उपसभापति सन्तोष यादव, जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरविन्द साहलगायतलाई पार्टीमा प्रवेश गरे ।

जसपाका तर्फबाट समानुपातिक प्रदेश सांसद भएकी अञ्जु यादवले एमालेमा काम गर्ने अवसरका साथै सम्मानजनक व्यवस्थापन हुने अपेक्षा रहेको बताइन् । त्यो नभए के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘मलाई त विश्वास छ ।’

२०७२ सालमा सद्भावना पार्टीबाट राजनीतिमा आएकी पर्साकी अञ्जु यादवको भन्दा अलि भिन्न भनाइ कांग्रेस छाडेर एमाले प्रवेश गरेका सन्तोष यादवको छ । एमाले अध्यक्ष ओलीमा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको जस्तो ‘भिजन’ देखेको उनले बताए । ‘त्यसैकारण एमाले प्रवेश गरेको हुँ’, उनले भने ।

२०४६ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनले यो पार्टी परम्परावादी सोचबाट ग्रसित भएको निष्कर्ष सुनाए । ‘केन्द्रीय तहमा पहुँच भए कांग्रेसमा जय-जय छ, तल्लो तहमा काम गर्नेको कुनै मूल्यांकन छैन’, यादवले भने ।

धनुषा क्षेत्र नं.४ को (क) वा (ख) बाट प्रत्यक्ष चुनाव लड्ने टिकट पक्का गरेर उनी एमाले छिरेको चर्चा छ ।

लामो समय नेकपा (माओवादी केन्द्र)मा रहेका शंकर महतो पनि एक महिनाअघि एमाले प्रवेश गरे । माओवादीका प्रदेश सदस्य एवं वाईसीएलको मधेश प्रदेश इन्चार्ज रहेका उनी राष्ट्रियताको सवालमा एमालेको लाइनबाट निकै प्रभावित भएको बताउँछन् ।

‘खुल्ला राजनीतिमा आएको १६ वर्ष पुग्दै गर्दा अहिले माओवादी पार्टी विधि-पद्धतिमा नचल्ने भयो’ महतोले भने, ‘एउटा पालिकाको वडाध्यक्ष टुंग्याउन पनि माथि नै पुग्नुपर्ने भयो । पार्टीलाई यस्तो बनाए प्रचण्डले । उनमा पूरै सर्वसत्तावादी सोच हाबी भयो ।’

माओवादी नेता गिरिराजमणि पोखरेल पटक-पटक महोत्तरी-१ बाट प्रतिनिधिसभा सदस्य र मन्त्री बन्दा उनको सचिवालयमा सधैं जिम्मेवारी पाएका महतोलाई एमालेले संघीय संसद्को लागि सोही क्षेत्रबाट प्रत्यक्षमा उठाउने आश्वासन दिएको चर्चा छ ।

अन्जुकुमारी यादव, सन्तोष यादव र शंकर महतो हिजोसम्म एमालेका विरोधी थिए । अहिले मधेश प्रदेशका आफ्ना घोर विरोधीहरूलाई पार्टी प्रवेश गराउन एमालेलाई भ्याईनभ्याई छ । कांग्रेस, माओवादी, जसपा, लोसपा सबै दलका केन्द्रदेखि गाउँसम्मका नेता-कार्यकर्ता धमाधम एमालेमा गइरहेका छन् । कतिपय नेता-कार्यकर्ता एमाले अध्यक्ष ओलीको निवासमै पुगेर खादा-टीका लगाइरहेका छन् ।

एमाले नेता रामचन्ऽ मण्डल चुनाव नजिकिंदै जाँदा गठबन्धन दलका नेता-कार्यकर्ता भित्र्याउन भ्याईनभ्याई भएको बताउँछन् ।

एमालेका एकजना केन्द्रीय नेता अहिले वैचारिक-सैद्धान्तिक हिसाबले भन्दा पनि अवसरको लागि मधेशमा एमाले प्रवेशको लहर चलेको बताउँछन् । ‘सबैैले चाहेजस्तो टिकट पाउने अवस्था भने हुँदैन’ ती नेता भन्छन्, ‘त्यसैले उनीहरूको व्यवस्थापन जटिल छ ।’

एमाले एक्लै प्रतिनिधिसभा र प्रदेश सभा चुनाव लड्न लागेकाले अन्य दलको तुलनामा ऊसँग बढी सिट खाली छ । समानुपातिकमा पनि थुप्रै सिट खाली छ । त्यही अवसर लिन अहिले एमाले छिर्ने लहर चलेको बुझ्न सकिन्छ ।

विश्लेषक भन्छन्- मधेशमा एमाले कांग्रेसपछि दोस्रो शक्तिको रूपमा छ । गठबन्धनमा जस्तो टिकट भागबण्डाको सकस पनि कम छ । अन्य दलमा टिकट पाउने अवसर नभएपछि एमाले प्रवेशको लहर चलेको विश्लेषकहरू बताउँछन् ।

त्यसबाहेक, मधेश आन्दोलनको नेतृत्व गरेका दलका शीर्ष नेताहरू नै केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि हामी एमालेमा जाँदा के फरक पर्छ र भन्ने धारणा पनि बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

विश्लेषक तुलानारायण साहका अनुसार, संविधानमा मधेशी समुदायको अधिकार सुरक्षित गर्न भएको मधेश आन्दोलनको नेतृत्व मधेशी दलहरूले गरेका थिए । आन्दोलनमा मधेशका सबै पक्ष सरिक थिए ।

आन्दोलनको नेतृत्व गरेका मधेशवादी दलहरूप्रति मधेशी समुदायको ठूलो समर्थन र सहानुभूति थियो । त्यसपछिको चुनावमा मधेशमा ध्रुवीकरण भएर पहाडी पार्टी भर्सेज मधेशी भनेजस्तो भयो ।

साहको भनाइ जस्ताको त्यस्तै- संविधान जारी गर्न बेला कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, तर असली प्रभाव केपी ओलीको थियो । उहाँको बोलीवचन र अडान चर्को थियो । ओलीको बोली र रणनीति दुवैमा मधेशको अधिकार कटौती गर्ने उद्देश्य थियो । त्यसकारण मधेशमा एमालेप्रति आक्रोश र मधेशवादी दलप्रति आकर्षण थियो ।

आन्दोलन गरेका मधेशवादी दलहरू संविधान बनाउने कांग्रेस र एमालेको विपक्षमा थियो । तर, संविधान जारी भएपछि गठन भएको ओलीको त्यही सरकारमा मधेशी दलहरू पालैपालो गए । पहिले उपेन्ऽ यादव पछि महन्थ ठाकुर जानुभयो । दुवै दलले ओलीलाई नेता मानेर सत्ताको लाभ लिन गए । नेता नै गएपछि कार्यकर्ताहरू किन जाँदैनन् ? यो एउटा आम बुझाइ छ ।

यसको अर्थ मधेश आन्दोलन पराजित भयो । हरुवा पार्टी र तिनका नेता-कार्यकर्ताले आˆनो सुरक्षा खोज्छन् नै । सुरक्षा दिने कांग्रेस र एमाले नै भए । माओवादी चाहिं आफैं धेरै कमजोर भयो ।

मधेशमा कांग्रेससँग चुनावमा उम्मेदवारीको भ्याकेन्सी छैन, तर एमालेमा छ । त्यसैले, ‘बम्पर अफर’ खोलेको छ । जो त्यहाँ जान्छ, टिकट पाउँछ । त्यसैले, टीका लगाउनेको लाइन लागेको छ ।

भरत विमल यादव भन्छन्- चुनावमा उठ्नु छ, तर पार्टीबाट टिकट पाउने सम्भावना नभएकाहरू अहिले धमाधम एमालेमा गइरहेका छन् । चुनावको मुखमा हुने पार्टी फेरबदल सिद्धान्त वा विचारको आधारमा हुने कुरै भएन ।

प्रतिक्रिया





Top