जनकपुर : यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोगको टोली

न्यूज डेस्क     २०७९ आश्विन ९, आईतवार १५:१२ बजे मा प्रकासित


जनकपुरधाम, असोज ९ गते ।ट्राइल फेल भएका ६२ जनालाई पास गरी लाइसेन्स वितरण गरेको घटना सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरको फाइल नियन्त्रणमा लिएको छ । यातायात कार्यालय वीरगन्जमा सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेहरूलाई जनकपुरको सर्भरबाट उत्तीर्ण गरी लाइसेन्स दिएको घटना बाहिरीएपछि आयोगले फाइल नियन्त्रणमा लिएको हो ।

 

आयोगले लाइसेन्ससम्बन्धी गरिएको निर्णय पुस्तिका र अन्य केही फाइल अनुसन्धानका लागि लगेको एक कर्मचारीले बताए । आयोगले जनकपुर र वीरगन्जका कर्मचारीलाई हेभी सवारीसाधन चालकको परीक्षामा यातायात कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको बारे जवाफसमेत मागेको छ ।

यातायात कार्यालय वीरगन्जमा ‘जी’ समूह (हेभी सवारी) चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक ९ट्रायल० परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरको सर्भरबाट मध्यराति पास देखाइएको थियो ।

यातायात कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको युजर (खाता) प्रयोग गरेर लाइसेन्सका लागि पास देखाइएको हो । घटना बाहिरीएपछि ६२ जनाकै लाइसेन्स रद्द गरिएको छ ।

ईडीएलभीआरएस सर्भरमा समस्या आएको दिन कार्यालयको जानकारी बिना सर्भरमा ६२ जनाको नामा इन्ट्री भएको यातायात कार्यालय जनकपुरका प्रमुख वीरेन्द्र साहको भनाइ छ । उनले सो प्रकरणमा जनकपुर यातायात व्यवस्था कार्यालयका कुनै कर्मचारीको संलग्नता नरहेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया





Top