मधेसपाटी डेस्क, काठमाडौ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ६ जनालाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य दलका नेता र कर्मचारीसँग स्पष्टीकरण मागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार आचारसंहिता उल्लंघन गरेको भनेर आयोगमा परेका उजुरी तथा प्राप्त सूचनाका आधारमा माओवादी अध्यक्ष प्रचण्ड, पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई स्पष्टीकरण सोधिएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, हाम्रो पार्टी नेपाका अध्यक्ष अध्यक्ष अनन्तराज घिमिरे, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई पनि स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले बताए । उनकाअनुसार आठ संस्थालाई पनि स्पष्टीकरण सोधिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमतिबमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बिमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।
प्रचण्डले बुझाए लिखित जवाफ
माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन आयोगलाई लिखित रूपमा जवाफ फर्काएका छन् । उम्मेदवारी दर्ताको क्रममा आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेपछि प्रचण्डले त्यसको जवाफमा कसले बाजा बजाएको हो, बाजा कहाँबाट आयो भन्ने मलाई थाहा नभएको उल्लेख गरेका छन् ।
आयोगलाई लिखित जवाफ दिएको जानकारी उनले गोरखामा शनिबार आयोजित एक कार्यक्रममा दिएका हुन् । ‘अस्ति कसले बाजा बजाएछ । तर, बाजा कहाँबाट आयो मलाई थाहा छैन । निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । मेरो योजनामा होइन भनेर लिखित स्पष्टीकरण दिएर आएँ ।’ उनले आफूले के बोल्छ, के गर्छ भनेर आफूलाई माइक्रोस्कोफले हेर्ने काम भइरहेको उल्लेख गरे ।
प्रतिक्रिया