मधेसपाटी डेस्क, जनकपुरधाम। धनुषामा प्रतिनिधिसभाको लागि आठ जना पूर्व मन्त्रीहरु चुनावी मैदानमा छन् । चुनावी एजेण्डासहित उनीहरु मतदाता समक्ष पुगिरहेका छन् । जित हात पार्न निर्वाचन क्षेत्रमा उनीहरु दिनरात व्यस्त छन् । तर विगतमा जितेर मन्त्री भइसकेकाहरुलाई जित्न कति सहज,असहज हुने सबैले चासो पूर्वक हेरिरहेका छन् । चार निर्वाचन क्षेत्र रहेको यहाँ तीन क्षेत्रमा पूर्वमन्त्रीहरुबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा तीन पूर्व मन्त्री उम्मेदवार छन् । यहाँ कुनै दलबीच चुनावी तालमेल हुन नसक्दा तीन पूर्व मन्त्रीहरुले आफ् नो दलबाट उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेबाट पूर्व मन्त्री उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव र नेकपा (एकीकृत समाजवादी) बाट पूर्व मन्त्री रामचन्द्र झा उम्मेदवार छन् । यहाँ उमाशंकर जित दोहराउने रणनीतिमा छन् भने रामकृष्ण अरगरियालाई हराएर ०७४ को बदला लिने तयारीमा छन् । रामभन्द्र झा पनि जित हात पारेर आफूलाई पुनः स्थापित गर्ने जोडबल गरिरहेका छन् । उनीहरु मत आफ्नो पक्षमा ल्याउन मेहनत गरिरहेका छन् । उम्मेदवारहरुको पार्टी फेरबदलका कारण यहाँको प्रतिस्पर्धा अन्योल देखिएको छ । तर स्थानीय मत परिणाम अनुसार कांग्रेसको अवस्था अन्य दलभन्दा मजबुत देखिएको छ । ४१ वटा वडा रहेको यस क्षेत्र १९ वटा वडामा पुरै सेट कांग्रेसले जितेको छ भने ६ पालिका रहेको यस क्षेत्रमा एमाले, जसपा र कांग्रेसले दुई/दुई वटा पालिका प्रमुख जितेका छन् । यद्यपि कांग्रेसले जितेको पालिकाको केही वडा मात्रै यस निर्वाचन क्षेत्रमा छन् । स्थानीय चुनावमा कांग्रेसले यहाँ २१ हजार दुई सय ३२ मत ल्याएर ठूलो दल बनेको छ । जसपाले १३ हजार आठ सय ८९, एमालेले ११ हजार पाँच सय ८३, माओवादी केन्द्रले १० हजार सात सय ९४, एकीकृत समाजवादीले आठ हजार नौ सय ९७ र लोकतान्त्रिक समाजवादी पार्टीले ६ हजार सात सय मत पाएका छन् । यस अघि ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए । उनले रामकृष्णलाई पराजित गरेका थिए । तर यस पटकको परिस्थिति फरक छ । निर्वाचनको मुखमा आएर अरगरिया लोसपा त्याग गरी एमालेबाट चुनावमा होमिएका छन् ।
एमाले त्याग गरी गंगाराम यादव जसपाबाट उम्मेदवार बनेका छन् । अन्तिम समयमा सहमति हुन नसक्दा नेकपा एसबाट रामचन्द्र झाको उम्मेदवारीले यहाँ प्रतिस्पर्धा थप रोचक बनाएको छ । उम्मेदवारको पार्टी फेरबदलले केही असर गर्ने अनुमान गरिएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा पनि सबैको नजर छ । यहाँ मुख्यतः दुबै गठबन्धनका उम्मेदवार एंव पूर्व मन्त्रीबीच प्रतिस्पर्धा छ । एमाले–जसपाको साझा उम्मेदवार जुली महतो छन् भने पाँच दलीय गठबन्धनबाट लोसपाका अनिल झा उम्मेदवार छन् । यहाँ पनि रोचक प्रतिस्पर्धा छ । गठबन्धनबाट आएका दुबै जना यस पटकका लागि यी क्षेत्रमा नयाँ उम्मेदवार छन् । अनिल झा यस क्षेत्रबाट पहिलो पटक उम्मेदवारी दिएका छन् भने जुली यस यघि निर्वाचनमा भाग लिएका थिएनन् । त्यो भन्दा पहिले उनी कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएकी थिइन् । यहाँ एक लाख १४ हजार १३ मतदाता छन् । चार पालिका यस क्षेत्रमा पर्छन् । दुई पालिका कांग्रेस जसपा र स्वतन्त्रले एक÷एक पालिका जितेका छन् । यद्यपि जनकपुरधाम उपमहानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका मनोज साह कांग्रेस निकट नै छन् । उनले आगामी निर्वाचनमा कांग्रेस सर्मथक उम्मेदवारलाई नै सहयोग गर्न सक्ने अनुमान गरिएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ पनि कडा प्रतिस्पर्धा छ । यहाँ पनि दुई पूर्व मन्त्रीबीच प्रतिस्पर्धा छ ।
एमालेका उम्मेदवार रघुवीर महासेठ जित दोहराउने दाउमा छन् भने कांग्रेसका सह महामन्त्री महेन्द्र यादव महासेठलाई पराजित गरेर ०७४ को बदला लिने रणनीतिमा छन् । यहाँ तीन जनाबीच मुख्य प्रतिस्पर्धा छ । तीनै जना पुरानै उम्मेदवार छन् । जसपाबाट अन्तिम समयमा महाजन यादव उम्मेदवार बनेका छन् । यी क्षेत्रमा पनि प्रदेशसभाका उम्मेदवारले पार्टी फेरबदल गरेका छन् । जसले चुनावी आकलन अन्योल छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक जना मात्रै पूर्व मन्त्रीको उम्मेदवारी परेको छ बाँकी तीन क्षेत्रमा मन्त्रीहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र १ मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री मातृका प्रसाद यादव उम्मेदवार छन् भने एमाले–जसपा गठबन्धनबाट दीपक कार्की छन् । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट यहाँ निर्वतमान सांसद किशोरी साह (कमल) पनि प्रतिस्पर्धा गरिरहेका छन् ।(जनकपुर टुडे)
प्रतिक्रिया