मधेसपाटी डेस्क, जनकपुरधाम। प्रधानमन्त्री कप छनौट प्रतियोगिताको लागि धनुषा क्रिकेट टीम राजविराज प्रस्थान गरेको छ ।
मंगलबारदेखि सुरु हुन लागेको एक दिवसीय खेलमा प्रतिस्पर्धा गर्न टीम राजविराज प्रस्थान गरेको हो । राजविराजमा एक सातासम्म मधेश प्रदेश स्तरीय प्रतियोगिता हुने छन् । श्रृंखलामा प्रत्येक दिन दुई वटा खेल हुने आयोजक संस्थाको तयारी छ । खेल तालिका अनुसार पहिलो दिन धनुषा क्रिकेट टीमको महोत्तरीसंग सप्तरीको टियु मैदानमा प्रतिस्पर्धा हुनेछ । हरिशंकर साहको नेतृत्वमा रहेको टीममा रौनक रत्नम, विशाल सुशलिङ्ग, हिमान्सु दत्त, अकबर अलि, विक्रान्त यादव र रञ्जित यादव जस्ता युवा खेलाडीहरु छन् । त्यस्तै, टीममा रुपेश यादव, दिव्यांशु मल्लिक, आकाश रोय, साइमोन रोय, संजित मण्डल र सर्फराज अन्सारी टीममा रहेका छन् । चन्दन यादव, साजन यादव, मनोज यादव र अखिलेश ठाकुरको नाम टीम व्यवस्थापकले वैकल्पिक खेलाडीका रुपमा राखेका छन् । खेलाडीलाई प्रशिक्षण दिनको लागि टीममा राष्ट्रिय प्रशिक्षक नविन सिंह र टीम म्यानेजर प्रशान्त झालाई पनि सहभागी गराइएको छ ।
खेलाडीहरुमा यस पटक उच्च मनोवल देखिएको टीम क्यापटन हरिशंकर साहले बताए । यस पटक प्रधानमन्त्री कपको लागि मधेश प्रदेश टीममा धनुषा क्रिकेटबाट चार जना खेलाडी छनौट हुन सक्ने उनको अनुमान रहेको छ । यस अघि प्रधानमन्त्री कपको लागि मधेश प्रदेश टीममा साह, विशाल सुशलिंग, र हिमान्सु दत्त टीममा परेका थिए । ‘यस पटक राम्रो टीम तयार भएको छ । टीममा बलर, ब्याटस् म्यान र अलराउण्डरलाई समावेश गरिएको छ,’उनले भने,‘राम्रो गर्न सक्ने खेलाडीहरुमा मनोबल पनि देखिएको छ ।’(जनकपुर टुडे)
प्रतिक्रिया