देशको गरिबीलाई पाँच वर्षभित्रमुक्त गर्ने जसपाको प्रतिवद्धता

मधेशपाटी अनलाइन     २०७९ कार्तिक ३, बिहीबार ०८:५३ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल (जसपा) ले देशको गरिबीलाई पाँच वर्षभित्रमुक्त गर्ने प्रतिवद्धता जनाएको छ ।

मंसिर ४ गते हुने चुनावका लागि तयार पारेको चुनावी प्रतिवद्धतामा जसपाले पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई गरीबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एक अंकमै सिमित गर्ने प्रतिवद्धता जनाएको हो । सार्वजनिक भइनसकेको जसपाको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्ने र कृषि फार्महरुको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थहरुमा आत्मनिर्भर हुने ।’ भूउपयोग नीति लागु गर्दै कृषिका लागि जमिनको उपलब्धता निश्चित गर्दै किसानको हितमा भूमि सुधार लागु गर्ने जसपाले प्रतिवद्धता जनाएको छ । एक गाउँ, एक उत्पादनको नीति लागु गरी कृषि उत्पादन बढाउनुको साथै पालिकाभर कृषिबाली बीमा अभियान सञ्चालन गरी प्रकोपजन्य अवस्थाबाट हुने बाली नोक्सानीको सोध भर्नाको प्रबन्ध गरिने जसपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । दुई वर्षभित्र कृषि विकासका लागि नेपालमा रासायनिक मल कारखाना खोल्ने उल्लेख गर्दै जसपाले पाँच वर्षभित्र सुनकोशी–कमला, भेरी–बबई, कर्णाली लगायत ठूला नदीहरूबाट पानी डाइभर्सन गरी देशैभरि सिँचाई सुविधा पु¥याउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, दुई वा दुईभन्दा किसानको संलग्नतामा चक्लाबन्दी गरी सहकारी खेती गर्ने किसानलाई राज्यले प्रोत्साहित गर्ने पनि जसपाले प्रतिवद्धता जनाएको छ ।

स्थायी लेखा (प्यान) मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट ५० लाख रुपियाँ पु¥याउने र साना व्यापारी व्यवसायीहरुको लेखा प्रणाली तथा व्यवसाय नवीकरणलाई सहज र सरल बनाउने प्रतिवद्धतापत्रमा जसपाले उल्लेख गरेको छ । पाँच वर्षभित्र उर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी जलविद्युतलाई निर्यातको मुख्य उत्पादन बनाई आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने जसपाले जनाएको छ । गरिबीको रेखामुनी रहेका जनतालाई घरेलु खपतमा निःशुल्क उर्जा सुविधा उपलब्ध गराउनुको साथै विद्युतीय सुरक्षाका लागि सहर बजारमा प्रवाहित हुने सम्पूर्ण विद्युत प्रसारण लाइन भूमिगत रुपमा जडान गर्ने जसपाको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

देशभित्रै रोजगारी सृजना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्नुको साथै जसपाले वेरोजगार नागरिकलाई वेरोजगार भत्ताको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । वर्तमान पूर्व पश्चिम लोकमार्गलाई स्तरोन्नति गरी चार लेन बनाउने र काठमाडौँको रिङरोगलाई पाँच वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेनको बनाउने जसपाले जनाएको छ । चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने जसपाले जनाएको छ । काठमाण्डु का चन्द्रागिरीदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकाहरुलाई समेटी मेट्रो रेल सञ्चालन गर्ने उल्लेख गर्दै जसपाले अबका पाँच वर्षभित्र आधारभूत रुपमा १२ कक्षासम्मको शिक्षा पूर्णतया निशुल्क गर्ने र गरिब, विपन्न तथा न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि राज्यले विशेष छात्रवृत्तिको व्यवस्था गरिने जसपाले प्रतिवद्धता जनाएको छ । प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियनसहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शैयाको सुविधासम्पन्न अस्पताल संचालन गर्ने जसपाले जनाएको छ ।

 

प्रतिक्रिया





Top