तराई-मधेसमा लोप हुन थाल्यो  हुक्का-लोली…(तस्बिर सहित हेरौं)

न्यूज डेस्क     २०७९ कार्तिक ८, मंगलवार ०९:२१ बजे मा प्रकासित


मधेसपाटी डेस्क, सबैला(धनुषा)। आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

दीपावलीको मुख्य आकर्षण आज राती हुक्का लोलीको तयारी पनि त्यसैसँग हुन्छ । कपडाको (गोलो गोलो) हुक्का लोली बनाएर विक्रिका लागि पसलहरुमा झुण्ड्याइएका हुन्छ भने कसैले कसैले आफ्नै घरका पुराना लुगाफाटाबाट नै हुक्का लोली बनाएका हुन्छन् । ती कपडाको हुका लोलीलाई दुई दिन अगाडि नै मट्टी तेलमा भिजाएर राखेका हुन्छ र लक्ष्मीपुजाको दिन खेलिन्छ ।

हुन त बाँसको ‘कोपर’ बाट पनि हुक्का लोली बनाएर खेलेका हुन्छन् । बाँसको लामो कर्ची (लठ्ठी) मा नयाँ बाँसमा निस्केको सुकेको ‘कोपर’ लाई गाँसेर त्यसमा आगो लगाएर पनि हुक्का लोली खेलेका हुन्छन् । केटाकेटीहरु त्यसमा पनि रमाईलो गरिहेका हुन्छन् । तर त्यो धेरै बेर टिक्दैन ।

त्यस्तै, धार्मिक परम्पार अनुसार सन्ठी (सनपाटबाट निकालिएको) बाट पनि हुक्का लोली बनाएका हुन्छन् । सन्ठीका साथै त्यसमा खर (एक प्रकारको घाँसे वनस्पती) पनि राखेर सन (सनपाटलाई पानीमा राखेर निकालिएको एकप्कारको रेसा जसलाई जुट पनि भनिन्छ) ले बाँधिएको हुन्छ । सन्ठीले बनाइएको हुक्का लोलीमा सन (जुट) ले पाँच ठाउँमा गाँठ बाँधिएका हुन्छन् भने माथी सन्ठीले नै क्रस गरी (रेडक्रसको लोगो जस्तो) बाँधिएको हुन्छ ।

सन्ठीले बनाइएको हुका लोलीलाई धार्मिक अनुष्ठानसँग सम्बन्धित हुन्छ । घरका कोही जेठो मान्छेले देवता भएको घरमा राखिको दीयोबाट सन्ठीबाट बनेको हुक्का लोलीमा आगो सल्काई सबै घरमा देखाइएका हुन्छन् । घरका चारैतिर, बारीझारी, खेतबारी लगायत सबैतिर मन्त्र पढ्दै त्यो हुक्का लोली देखाइएका हुन्छन् । त्यही जल्दै गरेको सन्ठीको हुक्का लोलीलाई घरका अन्य सदस्यले पनि घुमाएका हुन्छन् । पालो पालो घुमाएपछि चारवटा गाँठ जलिसकेका हुन्छन् । एउटा गाँठ बाँकी रहेकै अवस्थामा त्यसलाई खेत वा बारीमा जलेको भाग माथी राखेर ठाडो गाड्नु पर्छ । एउट सन्ठीको हुक्का लोली जसमा आगो लगाइएको हुँदैन त्यसलाई घरको छाप्रोमाथि राख्ने पनि चलन छ । जतिवटा छाप्रो हुन्छ, त्यतिवटा हुक्का लोली बनाइएको हुन्छ ।

हुक्का लोली खेल्दा त्यसमा राँको जस्तो आगो बलेको हुन्छ । राँको देखाउँदै राक्षस, दानव, भुतप्रेतलाई भागाउने र घरमा लक्ष्मी भित्र्याउने मान्यता रहेको छ । मैथिली भाषा सँस्कृति अभियानी प्रविणनाथ चौधरी (विराटनगर) ले भने, ‘दुष्ट दुर्जनलाई हटाउने र लक्ष्मीलाई भित्र्याउने उद्देश्यले हुक्का लोली खेलेका हुन्छन् ।’ यो परम्परादेखि नै धार्मिक अनुष्ठानको रुपमा मनाउँदै आएको एक प्रकारको पर्व नै हो पछिल्लो समय यसलाई मान्छेले मनोरञ्जनको रुपमा लिन थालेका छन् । यद्यपी हुक्का लोली लोप हुने अवस्थामा पुगेको छ ।

हुक्क लोली खेल्दा जप्ने मन्त्र
शास्त्राशस्त्रहतानांच भूतानांभूत दर्शयोः ।
उज्ज्वल ज्योतिष दह निदहेव्यामवन्हिना ।।
अग्निदग्धाश्च ये जीवा येऽप्यादग्धाः कुले मम ।
उज्ज्वलज्योतिषा दग्धास्ते यान्तु परमाङतिम् ।।
यमलोकं परित्यज्य आगता महालये ।
उज्ज्वलज्योतिषा वत्मं पश्यन्तो व्रजन्तुते ।।
हुक्का लोली खेल्नुको धार्मिक मान्यता

प्रतिक्रिया





Top