शहिदको सपना पूरा गर्न नसकेको यादवलाई आरोप

मधेशपाटी अनलाइन     २०७९ कार्तिक २२, मंगलवार २०:२१ बजे मा प्रकासित


जनकपुरधाम । मधेसी मुक्तिको अभियान सुरु गरेर राजनीतिमा उदाएका उपेन्द्र यादवलाई कुनै बेला ‘मधेसका मसिहा’ भनेर चिनिन्थ्यो । उनले गरेको आह्वानपछि ज्यू, ज्यानको प्रवाह नगरी मधेस आन्दोलनमा होमिएका ४५ जनाभन्दा बढी मधेसका युवाहरूले सहादत प्राप्त गरे । ती मध्येका ‘मलेठ घटना’ मधेसी समुदायको मानस पटलमा ताजै छ । एमालेको आमसभामा बिना कुनै कारण प्रहरीले चलाएको गोली लागेर मधेसका युवाहरूले सहादत प्राप्त गरेका थिए । मधेस र मधेसीको मुक्तिका लागि ज्यान उत्सर्ग गरेका शहीदको सपना यादवले तिनै एमालेमा लगेर विसर्जन गरिदिएका छन् ।

 

एमालेका केपी ओलीकै नेतृत्वको सरकारविरुद्ध निरन्तर ६ महिना नाकाबन्दी गरेर आफ्नो व्यापार, व्यवसायलगायत यातायात बन्द गरेको पीडा यादवले त भुल्ला तर के मधेसी समुदायले बिर्सेला ? त्यही केपी ओली हो जसले मधेसी समुदायले संसारमै सबभन्दा ठूलो पूर्वमा मेचीदेखि महाकालीसम्म निर्माण गरेको मानव साङ्लोलाई माखे साङ्लोको संज्ञा दिएका थिए । मधेसी समुदायले संसारमै रचेको इतिहासको उपहास गर्ने ओलीको पार्टीसँगको चुनावी गठबन्धन के मधेस र मधेसी समुदायका लागि आवश्यक थियो ? यो प्रश्न अहिले मधेसभरि उठिरहेको छ ।

सत्ता स्वार्थमा लिप्त भएका यादव कांग्रेस“ गठबन्धनमा ठाउँ“ नपाएपछि मधेसी युवाको रगतको होली खेलेका एमालेका केपी शर्मा ओलीसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका छन् । प्राध्यापन पेसाबाट आएका यादवभन्दा अन्य मधेसीले शहीदको रगतको मूल्य नबुझेको हुन सक्छ तर उनले शहीदको रगतको मूल्य त्यही मधेसी युवाका हत्यारासँगै साट्न पुग्दा मधेसी समुदाय निराश बनेका छन् । यसले मधेस प्रदेशमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खासै उत्साह पनि नदेखिएको स्थानीयवासी बताउँछन् ।

अङ्ग्रेज र गोर्खा सेनाबीचको युद्धमा मधेसी समुदायले गोर्खाली सेनाको अत्याचारबाट पीडित भएकाले अङ्ग्रेज सेनालाई साथ दिएको इतिहास छ । त्यही युद्धमा गोर्खाली सेना पराजित भएपछि सन् १९५० को सन्धि भएको थियो । त्यो सन्धिमा मधेसमा बस्ने मधेसीहरूले आफ्ना सम्पूर्ण सम्पत्ति छोडेर भारतमा बस्न चाहनेले जान सक्ने तर किसान बाहेक भन्ने बाध्यात्मक प्रावधान राखियो । तिनै मधेसी किसानले जङ्गल फाँडेर बनाएको खेतको जमिनदार गोर्खाली सेनाका अवकाश प्राप्त सैनिक शक्तिको बलमा बने र सम्पूर्ण मधेसी समुदाय रैती बनेर दासत्व स्वीकार गर्न बाध्य भएका थिए । त्यो समयदेखिको उत्पीडनको आक्रोशकै उपज भएको मधेस विद्रोहलाई यादवले ओलीको खुट्टामा विसर्जन गरेकाले समग्र मधेस र मधेसी पुनः एक पटक दासत्वको जन्जिरमा बाँधिन पुगेको मधेस प्रदेशका बुद्धिजीवीको भनाइ छ ।

मधेसी जनअधिकार फोरमबाट सुरु गरेको मधेस मुक्तिको अभियानलाई संविधान जलाएपछि उपेन्द्र यादवले पार्टीमा परिणत गरेका थिए । त्यही पार्टीको नाम सङ्घीय लोकतान्त्रिक फोरम हुँदै यादवले अहिले पार्टीको नामबाट समेत ‘मधेस’ शब्द विसर्जन गरेर जनता समाजवादी पार्टी बनाएको छ । मधेस र मधेसीको मुक्तिका लागि निर्माण गरिएको पार्टीलाई एमाले अध्यक्ष ओलीको खुट्टामा अर्पित गरेर मधेस प्रदेशमा एमालेको झण्डा फहराउनु के उचित छ ? यसको जवाफ आसन्न चुनावमा नै मधेसले सम्पूर्ण रूपमा तयार रहेको मधेसी युवाहरूको भनाइ छ । मधेसका युवाहरूको सहादतको रक्षा गर्ने दायित्व मधेसी युवाहरूको काँधमा आएकाले सबैलाई एकजुट यादव र ओलीलाई जवाफ दिन मधेसी युवा समुदायले आह्वान गरेको छ ।

प्रतिक्रिया





Top